काठमाडौं: टी-२० विश्वकप एशिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ। सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो।
सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए। मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए। तर अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो।
ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए। ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २÷२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १÷१ विकेट लिए।
त्यसअघि नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। आजरको खेलमा गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए। उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

नेपालका कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। ओमानका लागि बलिङमा विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए।