गेजिङ: वर्तमान एसकेएम सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्दै आइरहेको छ। जनताको स्वास्थ्यप्रति अत्यन्तै चिन्तित मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्गदर्शनमा आज राज्यका हरेक स्वास्थ्य केन्द्रहरू आधुनिक तकनिकीय सुविधायुक्त बनेका छन्।
जसको फलस्वरूप राज्यका रोगीहरूले राज्यभित्रै उत्तम स्वास्थ्य सुविधा उपभोग गर्न पाइरहेका छन्। जसको एउटा उदाहरणको रूपमा गेजिङ जिल्ला अस्पतालले प्रस्तुत गरेको छ।
प्राप्त जानकारी अनुसार, यहाँ न्युरोटोक्सिक (सर्पले डसेका) एक १३ वर्षीय बालकलाई श्वास-प्रश्वासमा पक्षघात भएको अवस्थामा शीघ्र उपचारको लागि जिल्ला अस्पताल गेजिङ लगिएको थियो। बिरामीको तत्काल उपचारका लागि चिकित्सा अधिकारी डा. रोजिना बस्नेत र आपतकालिन विभागका सबै कर्मचारी, चिकित्सा विशेषज्ञ डा. मिस्किला सुब्बा, डा. अभिमन्यु शर्मा (एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर विशेषज्ञ) लगायत सम्पूर्ण टोली उपचार कार्यमा लागि परेका थिए।
बिरामीलाई करिब ६० घण्टा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएपछि ती बालक पूर्णरूपमा निको भएका छन् भने अहिले अस्पतालबाट छुट्टी भएर घर लगिएको छ। गरीब जन कल्याण प्रकोष्ठद्वारा बिरामीको स्वास्थ्य लाभको लागि सहयोग राशि पनि प्रदान गरिएको छ।
बिरामीका अभिभावकले सम्पूर्ण चिकित्सा टोलीलाई धन्यवाद दिएका छन्। उनीहरूले वर्तमान सरकारमा यसरी जिल्ला अस्पतालमै गम्भीर बिरामीलाई पनि निको बनाएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा सिक्किम सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।