कालचिनीः दुर्गा पूजा वा दशैँपछि प्रत्येक बर्ष दलका कार्यकर्ता, नेता औ समर्थकहरूलाई समेटेर तृणमूलले विजया सम्मेलनी गर्दै आइरहेको क्रममा आइतबार तृणमूल कालचिनी ब्लक कमिटीको आयोजना एवम् जिल्ला नेतृत्वको उपस्थितिमा राजाभातखावा स्थित मिलन मन्दिर क्लबमा विजयी सम्मेलनी सम्पन्न भयो। उक्त अवसरमा कालचिनी खण्डको ११ वटा अञ्चलका वरिष्ठ सदस्यहरूलाई दलीय खदा पहिराएर सम्वर्द्धना प्रदान गर्ने कार्य सम्पन्न भएको थियो। तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा वर्तमान राज्यसभा सांसद प्रकास चीक बडाइकको बाहुलीबाट दलका प्रत्येक आमन्त्रित सदस्यहरूलाई दलीय खदा प्रदान गरिएको थियो।
यसै क्रममा कालचिनी खण्डको पत्रकारहरूलाई पनि तृणमूलको पक्षबाट धन्यवाद स्वरूप सम्वर्द्धना प्रदान गरिएको थियो।
सो सम्मेलनीमा उपस्थित अलिपुरद्वारबाट राज्यसभा सांसद तथा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइकले विजयी सम्मेलनी मार्फत दलका कार्यकर्ता र नेताहरूलाई आगामी २४ मा सम्पन्न हुने लोकसभा चुनाउको निम्ति तयार बस्ने आह्वान गरेको थियो। कार्यक्रम पश्चात पत्रकारहरूसित सम्मुखिन हुँदै तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकास चीक बडाइकले चियाकमानको श्रमिकहरूलाई दिइने ५ डेसिमलको पट्टालाई लिएर विरोधीहरूले भ्रामक कुरा फेलाउने काम गरेको र चियाश्रमिकहरूको हितमा मुख्यमन्त्री ममता ब्यानर्जीले जुन काम गरेकी छन् त्यसले चियाश्रमिकहरू कुल्लीबाट किसान हुने र किसानको निम्ति जुन सुविधा सरकारले दिइरहेको छ त्यो सुविधा पनि चियाश्रमिकहरूले प्राप्त गर्न सक्ने बताए। यसै क्रममा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले यो विजय सम्मेलनी मार्फत दलका सम्पूर्ण नेता र कार्यकर्ताहरूबिच मिलन साथै दलीय कार्यक्रमको जानकारी गराउने लक्ष्य रहेको र यसले दलमा रहेका जम्मै नेता र कार्यकर्ताहरूबिच समन्वय सबल हुने जनाएका छन्।