गेजिङ: गेजिङ-बर्मेक समष्टिको अप्पर ओमचुङ अनि लोवर ओमचुङका १६ परिवार सत्तारूढ एसकेएम पार्टी परित्याग गरी विपक्षी पार्टी एसडीएफमा सामेल भएका छन्। शनिवार आयोजित एसडीएफको एउटा समन्वय सभामा एसकेएम सदस्यहरू एसडीएफमा सामेल भएको बताइएको छ।
एसडीएफले दिएको जानकारी अनुसार पूर्व विधानसभा अध्यक्ष तथा पार्टीका उपाध्यक्ष केएन राईको अध्यक्षतामा सम्पन्न सभामा अप्पर ओमचुङबाट बीर्खबहादुर कार्कीको नेतृत्वमा एमबी सुब्बा, गोपाल कार्की, राजीव सुब्बा अनि प्रेमबहादुर राईले विपक्षी पार्टीको झण्डा ग्राहण गरेका छन् भने लोवर ओमचुङबाट विमल राईको नेतृत्वमा सुजल कार्की, सुरज राई, बसन्त राई, रूपेन राई, रोशन सुब्बा, राजेन राई, सुवाष राई अनि सरोज राईको एसडीएफमा प्रवेश भएका छन्। यसभन्दा अघि सत्तारूढ एसकेएम पार्टीमा रहेको, सत्तारूढ पार्टीले गरीब जनतालाई नहेरेको तथा ग्रामीण क्षेत्रको विकास नगरेको कारण नै आफूहरू विपक्षी पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन्।

यस अवसरमा पश्चिम जिल्ला प्रभारी तथा उपाध्यक्ष सतीशमोहन प्रधान, दक्षिण-पश्चिम जिल्ला प्रचारप्रसार प्रभारी एमएन दाहाल, उपाध्यक्ष जीएस रिजाल, युवा नेता राम भण्डारी, पश्चिम जिल्ला भाइस प्रेसिडेन्ट इन्चार्ज टासी ग्यात्सो भोटिया, कमल शर्मा, पीएन शेर्पा, वरिष्ठ शिक्षक एमबी राई, चेली मोर्चाको पक्षबाट पाशङफुटी भोटिया, ज्ञानु सुब्बा अनि सुमित्रा राईको विशेष उपस्थिति रहेको थियो।