गेजिङ: सिक्किम र सिक्किमेको अस्तित्व खतरामा रहेको अनि सिक्किमको चिन्हारी हराउँदै गएको एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष डा. एडी सुब्बाले बताएका छन्। शनिवार पश्चिम सिक्किम गेजिङ-बर्मेक समष्टिको समन्वय सभालाई सम्बोधन गर्दै सुब्बाले १३ जनवरी, २०२३ देखि एसकेएम सरकारले सिक्किमेलाई ‘विदेशी’ बनाएको पनि आरोप लगाए। “जनता एकजुट हुन आवश्यक छ। हिजोको सिक्किमको शान्तिपूर्ण राज्यको गरिमा फर्काइल्याउन सारा सिक्किमे जनता एक हुन आवश्यक छ”, उनले आह्वान गरे। वर्तमान सरकारका कारण सिक्किम संकटका दिनहरूबाट गुज्रिरहेको उनको भनाइ थियो।
कार्यक्रममा एसडीएफ पश्चिम जिल्ला प्रभारी तथा उपाध्यक्ष सतीशमोहन प्रधान, दक्षिण-पश्चिम जिल्ला प्रचार-प्रसार प्रभारी एमएन दाहाल, उपाध्यक्ष जीएस रिजाल, युवा नेता राम भण्डारी, पश्चिम जिल्ला भाइस प्रेसिडेन्ट इन्चार्ज टासी ग्यात्सो भोटिया, कमल शर्मा, पीएन शेर्पा, वरिष्ठ शिक्षक एमबी राई, चेली मोर्चाको पक्षबाट पाशङफुटी भोटिया, ज्ञानु सुब्बा अनि सुमित्रा राईको विशेष उपस्थिति रहेको थियो। एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व विधानसभा अध्यक्ष केएन राईको अध्यक्षतामा सम्पन्न सभामा समष्टिका १६ परिवार एसकेएम पार्टी त्यागेर एसडीएफ-मा सामेल भएका छन्।
सभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा प्रचार-प्रसार प्रभारी एमएन दाहालले गोलेको शासन चामलिङको भन्दा कमजोर रहेको कारण नै पुनः चामलिङ सत्तामा आउने निश्चित रहेको दाबी गरे। दाहालले आफ्नो सम्बोधनमा भने,”एसडीएफ-लाई सिक्किम र सिक्किमेको आउँदो भविष्यको चिन्ता छ।भारत सरकारसँग पैसा र विकासमा झुकेर होइन, सिक्किमेको अधिकारका लागि लड्न निस्केको पार्टी एसडीएफ हो।” एओएसएस- ले लगाएको मुद्दा र भारत सरकारले संशोधन गरेको कानूनमाथि बनाएको कमिटीको कार्य प्रगतिबारे राज्य सरकारले विधानसभामा सठीक जानकारी नदिएकोमा पनि दाहालले कटाक्ष गरे।

अर्कोतिर, सभालाई सम्बोधन गर्दै पूर्व विधानसभा अध्यक्ष तथा पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राईले भविष्यमा वन साङ्ग्लोले घर साङ्ग्लोलाई खेद्ने सम्भावना बढ्दै गएको टिप्पणी गरे। अहिले जति पनि कामहरू बिग्रिएका छन् ती सबै एसडीएफ सरकार बनेपछि सुधारिने र पल्टाइने पनि उनले जनतालाई आश्वासन दिए। “दाम्लो मकिन्छ तर मामलो मक्किँदैन। तिहारमा सयपत्री र मखमली फुले पनि राज्यका जनताको मन फुल्न सकेको छैन”, पूर्व विधानसभा अध्यक्षले भने। सभालाई लाकु सदामु, ज्ञानु सुब्बा, मनरूप लिम्बू, सीएल शर्मा अनि टासी ग्यात्सो भोटियाले पनि सम्बोधन गरेका थिए भने यस अवसरमा पार्टीका विभिन्न नयाँ पदभार प्राप्त गर्ने कार्यकर्ताहरूलाई ‘अफिस अर्डर’ पनि प्रदान गरिएको थियो।