निलम्बित भएका दुई पुलिस अधिकारी र एसपीलाई निस्कासन गर्नुपर्ने पदम गुरूङका परिवार पक्षकाे माग

गान्तोक: स्वर्गीय पदम गुरूङको परिवार र अखिल सिक्किम गुरूङ तमु (बौद्ध) संघले न्यायमूर्ति एनके जैनको जॉंच रिपोर्टमाथि असन्तुष्टि व्यक्त गरेका छन्। पीड़ित परिवार र गुरूङ संघले यस घटनाको सम्बन्धमा सिक्किम पुलिसको कामकाजमाथि पनि औंला उठाएका छन्।

उनीहरूले दोषी पुलिस अधिकारीहरूलाई टर्मिनेट गर्नुपर्ने र यस मामिलाको जॉंच विश्वनीय एकाईबाट गराउनु पर्ने पनि माग गरेका छन्।

राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा पीड़ित परिवार र संघले यस्तो माग गरेका छन्। पत्रकार सम्मेलनमा स्व. गुरूङका दाजु प्रेम गुरूङ लगायत भाउजु र काका अनि गुरूङ संघका कल्याण सचिव सुभाष गुरूङ लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

दक्षिण सिक्किमको कामराङ सरकरी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरूङको यसै वर्ष गत जुलाई महिनामा रहस्यमय मृत्यु भएको थियो। उनको मृत्युलाई लिएर निकै ठूलो विवाद उत्पन्न भएपछि राज्य सरकारले सिक्किम उच्च न्यायालयका सेवानिवृत्त पूर्व मुख्य न्यायाधीश न्यायमूर्ति एनके जैनको अगुवाईमा एकल जॉंच कमिटी गठन गरेर जॉंचको जिम्मा सुम्पेको थियो।

कमिटीले आफ्नो जॉंच पूरा गरेर गत एक नोभेम्बरमा आफ्नो रिपोर्ट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सुम्पियो। रिपोर्टमा कमिटीले स्व. पदम गुरूङको मृत्युलाई दुर्घटना ठहर गरेको छ। यसैगरी, नाम्ची पुलिस थानाको दुईजना अधिकारीलाई जॉंचमा लापरवाहीको निम्ति सस्पेन्ड गर्ने र तत्कालीन पुलिस अधिक्षकलाई कारण बताउ नोटिस जारी गर्ने सिफारिस गरेको छ।

स्व. गुरूङका परिवार र गुरूङ संघले कमिटीको उक्त रिपोर्टलाई मान्न अस्वीकार गर्दै पदम गुरूङको हत्या नै भएको हो भन्ने आफ्नो अडान स्पष्ट गरेका छन्। उनीहरूको दाबी अनुसार, यस मामिलामा पुलिसले लापरवाही गरेको थियो र नै कमिटीले पुलिस अधिकारीहरूलाई सस्पेन्ड गर्न सिफारिस गरेको छ। उनीहरूले सस्पेन्ड होइन अधिकारीहरूलाई टर्मिनेट नै गर्नुपर्छ भन्ने मा गरे।

यसैगरी, तत्कालीन पुलिस अधीक्षक मनीष वर्मालाई पनि कारण बताउ नोटिस जारी गर्नु मात्र होइन, तर उनी विरूद्ध पनि कड़ा कारबाही गरिनु पर्ने उनीहरूले माग गरेका छन्। स्व. पदम गुरूङका परिवारले पुलिसमाथि यस मामिलासित सम्बन्धित दस्तावेजहरू लुकाएर र साक्षीहरूलाई डर देखाएर हत्यालाई अप्राकृतिक मृत्यु बनाएको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement