गान्तोक: मुख्यमन्त्रीको निर्देश बमोजिम आज रम्फू वरिष्ठ माध्यमिक विद्यालयमा बाढ पीढितहरूलाई राहत राशि प्रदान गरियो। क्षेत्र विधायक एवम मन्त्री एलबी दासको बाहुलीबाट बाढ पीढितहरूलाई चेक वितरण गरिएको हो। उल्लेखनी छ, गत ४ अक्टोबरको दिन प्रकृतिक प्रकोपको चपेटमा परि प्रभावित बनेका परिवारलाई हाल आर्थिक सहयोग प्रदान गर्ने कार्य राज्यभरि सञ्चालन भइरहेको छ। यसै क्रममा आज मन्त्री दासले आफ्नो क्षेत्रका प्रभावित परिवारलाई चेक वितरण गरेका हुन्। उक्त बाढको चपेटमा परि जसले घर,दोकान गुमाए उनीहरूलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो। यस अवसरमा २०३ जना व्यापारी र गोलीटारका पाँचजनालाई मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको हो। यस अवसरमा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा लगायत अन्य अधिकारीहरूको उपस्थितिमा चेक वितरण कार्य सम्पन्न भएको थियो।