गान्तोक: ल्हाब दुछेन पर्वको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। ल्हाब दुछेन पर्व विशेष गरेर भगवान बुद्धले आफ्नो अनुयायीहरूको आग्रहमा आफूले शिक्षा आर्जन गर्नको साथै आफ्नो आमालाई संसारको चक्रबाट मुक्त गराएर माताप्रति कृतज्ञता प्रकट गर्नको निम्ति धरतीमा अवतरण गरेको राज्यपालद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ। यस अवसरमा उनले राज्यका मानिसहरूलाई भगवान बुद्धको दिव्य सन्देशलाई पालन गर्नुपर्ने आग्रह गरेका छन्। भगवान बुद्धको आदर्श, शिक्षाले हामीलाई सदैव कर्मपथ, भाइचारा र सदभवना कायम राख्न सिकाउने गरेको उल्लेख गरेका छन्।
यसरी नै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि ल्हाब दुछेन पर्वको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। उनले शाक्यमुनि ज्ञान र बुद्धिको प्रतिक रहेको र सिक्किमका जनतालाई भगवान बुद्धले देखाएको बुद्धि, प्रेम, करुणा र सद्भावका गुणहरू सिक्न र पालना गर्न आग्रह गरेका छन्।
शाक्यमुनिको आदर्श र शिक्षाले मानव जातिलाई प्रेरणा र हाम्रो जीवन र कर्मलाई उज्यालो बनाउँदै लैजाना र यस शुभ अवसरले भगवान बुद्धका आदर्शहरूको प्रचार-प्रसार गरी सर्वत्र शान्ति, सुख र सद्भावको प्रवर्द्धन गरिनुपर्ने आग्रह गरेका छन्।