सिङ्ताम: गान्तोक जिल्लाअन्तर्गत सिङ्ताम, सिरवानी, रालाप, तनक, डिक्चुका टिस्टा बाड़ पिड़ीतहरुलाई आज सिक्किम सरकारद्वारा राहत राशि वितरण गरियो। सरकारी उच्चत्तर माध्यमिक विद्यालय सिङ्तामको प्रेक्षागृहमा आयोजित राहत राशि वितरण कार्यक्रममा एडीसी मिलन राई, अध्यक्ष चिरन रिजाल, एसडीएम परी विष्नोय, सीईओ छिरिङकी, सिङ्ताम नगर पञ्चायत सभापति सुरेश तामाङ, एमईओ, खण्ड विकास अधिकारी, एसएचओ शेर बहादुर मंगर तथा अन्यान्य अधिकारीहरुको उपस्थितिमा मुख्यमन्त्रीका सचिव एस. डी. ढकालको बाहुलीबाट पिड़ीतहरुलाई राहत राशि वितरण गरियो। पिड़ीतहरुमा घर वाशआउट भएकाहरु 82 जनालाई थप राशि एक-एक लाख रु., १२१ पिड़ीत विद्यार्थीहरुलाई रु. दश-दश हजार, २९ पिड़ीत किरायदारहरुलाई रु. बिस-बिस हजार अनि १८ जना पिड़ीत होम गार्ड कर्मचारीहरुलाई रु. दश-दश हजारको चेक वितण गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको केन्द्र सरकारसित अनिवार्य विडियो कन्फ्रेन्स रहेकोले यस कार्यक्रममा उपस्थित हुन नसकेको सभापति एसएनपी सुरेश तामाङ अनि मुख्यमन्त्रीका सचिव एस. डी. ढकालले उपस्थित सबैलाई जानकारी गराए। चेक वितण गर्नअघि बाड़ले ज्यान गुमाउनेहरुका चीर आत्मा शान्तिको निम्ति दुइ मिनटको मौनधारण गरिएको थियो।