पोखरा: वास्तविक नाम कोलिन स्मिथ भए पनि पुतली बाजेकै नामले परिचित उनको शनिबार बिहान उपचारकै क्रममा पोखरामा निधन भएको छ। अस्वस्थताका कारण ८८ वर्षीय पुतलीबाजे दुई महिनादेखि हरियोखर्क अस्पतालमा उपचाररत् थिए ।पुतलीबाजेको सोमबारमात्रै अन्त्येष्टि गरिने उनी निकट सुनिल उलकले जानकारी दिए। ‘त्यतिञ्जेलसम्म उहाँको शव अस्पतालमै राखिने भएको छ,’ उनले भने। उनको अन्त्येष्टि सोमबार १० बजे नदीपुरमा गरिनेछ।पोखराका मेयर धनराज आचार्य पर्यावरण त्यसमा पनि पुतलीको अध्ययन र खोजमा विशेष योगदान रहेको बताउँछन्। उनले पुतलीबाजेको अन्त्येष्टिका लागि आइतबार मात्रै विस्तृत जानकारी दिइने बताए।
को हुन् स्मिथ?
सेतो छाला, सेतै कपाल, सदाबहार सेतो पाइन्टसँग आकाशे निलो रङ सर्ट अनि शिरबाट कहिल्यै नहटेको ढाकाटोपी। यो थियो, बेलायती नागरिक कोलिन स्मिथको ‘नेपाली हुलिया ।’२०२२ सालमा युनाइटेड मिसनमार्फत शिक्षणका लागि स्मिथ नेपाल आएका थिए। उनले सुरुमा पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल)बाट अध्यापन सुरु गरेका थिए। नेपाली आदर्श स्कुलमा पढाउँदा पढाउँदै उनलाई धर्म प्रचार गर्न पनि दबाब दिइएको थियो।
पुतली म्युजियममा ‘पुतली बाजे’
तर उनले मानेनन्। ‘मैले यस्तो काम गर्न सक्दिनँ भनेपछि मलाई उतै (स्वदेश) फर्काइयो,’ स्मिथले भनेका थिए, ‘त्यसपछि फेरि नेपाल बोलाइयो । तर मलाई पोखरा होइन, पढाउन गोरखा पठाइयो।’गोरखाको अमरज्योति माविमा पढाउँदा उनका दुई मेधावी विद्यार्थी थिए, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालकै प्रख्यात चिकित्सक उपेन्द्र देवकोटा । दुवैलाई उनले कक्षा ९ मा पढाएका थिए।‘उहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चहार्नुहुन्थ्यो,’ पूर्वप्रधानमन्त्री भट्टराईले स्मिथलाई सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्, ‘कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि ‘ऊ..ऊ..पुतली’ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हाँस्थ्यौं।’स्मिथ जति पुतली मन पराउँथे, त्यति नै मन पराउँथे पुतली पनि। त्यसैले कालान्तरमा उनी वास्तविक नामले भन्दा बढी पुतली बाजेको नामले चिनिए, लामो संघर्षपछि मानार्थ नेपाली नागरिकता पाए। पोखरा सराङकोट नजिकै बस्दै आएका उनी प्रायः जिल्ला प्रशासन कार्यालयमा भेटिन्थे। ‘जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो,’ प्रष्ट नेपालीमै उनी भन्थे, ‘म क्रिश्चियन हुँ। तर मेरो लास सेतीमा जलाइदिनू है।’सन् १९९० देखि नेपाली नागरिकताका लागि प्रशासन धाउन थालेका उनले सन् २०१९ डिसेम्बर २ मा बल्ल मानार्थ नेपाली नागरिकता पाएका थिए।
स्मिथ कसरी बने पुतली बाजे?
अहिले पनि उनको वास्तविक नामबाट कमैले चिन्छन्। तर पुतलीको जाति-प्रजातिको खोज अनुसन्धान गर्दागर्दै यो उपनाम पाए, पुतली बाजे। कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम पनि यही बन्न पुग्यो। खासमा उनलाई ‘पुतली बाजे’ भनिनु पनि उनको पुतलीप्रतिको मोह भएर नै हो। पुतली बाजेले आफू सानो हुँदा काका पुतलीको खोज र अनुसन्धानमा लागेको देखेर रुचि जागेको बताएका थिए। पुतलीकै खोजमा नेपालका ४० भन्दा बढी जिल्ला पुगेको उनी सुनाउँथे।
‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छोडें र मन लगाएर पुतली खोज्नतिर लागें,’ उनले भनेका थिए, ‘मलाई त पुतलीको फोटो खिच्न पनि मन पर्छ।’नेपालमा पाइने ६६० प्रजातिबारे नेपालीभन्दा उनी नै बढी जानकार थिए। लोपोन्मुख अवस्थामा रहेका विभिन्न जाति-प्रजातिका पुतली तथा झ्याउँकिरीबारे अध्ययन गर्नै उनले जीवन लगाए ।नेपालका ४० जिल्ला घुमेर उनले २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए। जसको प्रमाण पीएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू र काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा अहिले पनि देख्न सकिन्छ। उनले संग्रहित गरेका पुतली पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण म्युजियम अहिले नामले भन्दा पनि ‘पुतली संग्रहालय’को नामले बढी चिनिन्छ । पुतली बाजेले पुतलीबारे दर्जनौं अनुसन्धानात्मक किताब पनि लेखेका छन्। पुतली र झ्याउँकिरीसम्बन्धी उनका ३० भन्दा किताब प्रकाशित छन्। उनको पहिलो कृति ‘बटरफ्लाइज अफ नेपाल इन सेन्ट्रल हिमालय’ सन् १९८९ मा प्रकाशित भएको थियो।