सिलगढ़ीः अरिबहादुर गुरुङ फाउण्डेसनले ५० फीट अग्लो अरिबहादुर गुरुङको सालिग स्थापना गर्ने घोषणा आज गरेको छ ।सिलगढ़ीको एउटा होटलमा आयोजित एउटा पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष अमित गुरुङले यसबारे पत्रकारहरूलाई जानकारी दिँदै भने, ब्यारिस्टर अरिबहादुर गुरुङ सम्पूर्ण गोर्खा जातिलाई प्रतिनिधित्व गर्दै स्वाधीन भारतको संविधानको प्रारुप तयार गर्ने मस्यौदा समितिका सदस्य थिए अनि उनी भारतीय संविधानको अनुमोदित प्रतिलिपि (१९५०) मा हस्ताक्षर गर्ने एकमात्र गोर्खा सन्तति हुन्। उनी स्वतन्त्र भारतको दार्जीलिङ निर्वाचन क्षेत्रबाट मनोनित पहिलो लोकसभा सांसद पनि हुन्।
गोर्खा जातिको यस्तो गौरवमय इतिहासलाई अटल राख्न यस्ता उच्च कद भएका इतिहास पुरुषको सालिग निर्माण गर्ने कार्यलाई सबै भारतीय गोर्खा-नेपालीहरूले सहयोग र समर्थन गर्ने आह्वान जनाउँदै फाउण्डेसनका अध्यक्ष गुरुङले एउटा प्रश्नको जवाबमा उक्त सालिग खरसाङ ब्लक अन्तर्गत सिटोङमा अबको ४-५ वर्षभित्र स्थापना गरिने योजना कार्यक्रम लिएर आफूहरू अघि बढिरहेको जनाए। सालिग निर्माणको निम्ति सिटोङलाई नै किन चुनियो भन्ने प्रश्नको जवाबमा उनले सिटोङ हाल पर्यटकीय क्षेत्रको रुपमा खुबै तीव्र गतिमा अघि बढ़िरहेकोले गोर्खा जातिको विभुतिको सालिग स्थापना गर्दा यसबाट हामी गोर्खा जातिले राष्ट्र निर्माणको दिएको योगदान कथाको सन्देश भारतभरि सहज रुपमा पुग्न सजिलो हुने बताए। हाम्रो जातिले राष्ट्र निर्माणमा दिएका यस्ता योगदान कथाहरूलाई समग्रतामा पुऱ्याउनु नै फाउण्डेसनको मूल उद्देश्य रहेको कुरामाथि उनले प्रकाश पारे।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फाउण्डेसनका महासचिव कबिर शर्माले फाउण्डेसनले निकट भविष्यमा गर्ने योजना कार्यक्रमहरूबारे जानकारी दिए। अरिबहादुर गुरुङ फाउण्डेसनको रुपमा यसको नामकरण गरिएको भए तापनि फाउण्डेसनले सालिग स्थापना लगायत गोर्खा जातिको कला र संस्कृतिको संरक्षण, संवर्द्धन, प्रचारप्रसार र लोकप्रियताका लागि शोध र खोज आधारित क्रियाकलापहरू पनि गर्ने बताए। ऐतिहासिक महत्वका सम्पदा, स्थल र सम्बन्धित प्रकृतिको संरक्षण गर्ने र दुर्लभ पाण्डुलिपिहरूको सङ्कलन तथा संरक्षण पनि गर्नेछ अनि कला, शिल्प केन्द्रहरू र संग्रहालयहरूको स्थापना पनि गर्ने उनले थप बताए। ब्यारिस्टर अरिबहादुर गुरुङको सम्मानमा उनको भव्य सालिग निर्माण गर्ने योजना कार्यक्रम लिएर अघि बढेको उक्त फाउण्डेसनले यो महत् कार्यलाई लक्ष्यमा पुऱ्याउन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सिक्किम सरकार, जनसमूह, जनप्रतिनिधि, सामाजिक सह-संगठनहरूबाट आर्थिक सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा फाउण्डेसन महासचिव कबिन्द्र शर्माले बताए।
पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा उनले सिटोङमा सालिग स्थापनाको निम्ति जमीन अधिग्रहण गरिसकेको अनि सम्बन्धित पक्षबाट अनुमति लिने प्रक्रिया शुरु भइसकेको पनि बताए। भारत स्वतन्त्रतपछि भारतको संविधान सन् १९५० सालदेखि लागू भएको कुरालाई आधार गरेर संविधान मस्यौदामा हस्ताक्षर गर्ने एक मात्र गोर्खा विभुति अरिबहादुर गुरुङको ५० फीटकै अग्लो सालिग स्थापना गर्ने निधो गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ। उक्त सालिग स्थापना सम्बन्धी प्रगति कार्यबारे निरन्तर पत्रकार सम्मेलनद्वारा जानकारी दिइरहने पनि उनीद्वयले जनाएका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लोकप्रिय गायक पुष्पन प्रधानले साङ्गीतिक कार्यक्रमहरूको आयोजना गरेर पनि सालिग निर्माणको निम्ति अर्थ जुटाइने जानकारी दिए।