गान्तोक:सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको विद्यार्थी मोर्चाले स्व. पदम गुरूङको मृत्युलाई लिएर न्यायमूर्ति एनके जैनको अगुवाईमा कमिटीले बुझाएको जॉंच रिपोर्टको प्रतिलिपि माग गर्दै राज्यका मुख्य सचिवलाई पत्र चढ़ाएको छ।
एसडीएफ विद्यार्थी मोर्चाले आज बुझाएको माग पत्रमा स्वर्गीय पदम गुरुङको मृत्यु सम्बन्धी सत्य तथ्य र परिस्थिति बुझ्नका लागि जॉंच कमिटीको निष्कर्ष आवश्यक रहेको बताएको छ।
एसडीएफ विद्यार्थी मोर्चाका सचिव अजित बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, जॉंच कमिटीले जॉंच पूरा गर्नमा गरेको अकारण ढिलाइ र यस विषयमा नागरिकले देखाएको गम्भीर चासोलाई ध्यानमा राख्दै एसडीएफ पार्टीले उक्त जॉंच रिपोर्टलाई विस्तृतरूपमा हेर्न र अध्ययन गर्न महत्त्वपूर्ण ठानेको छ। यो घटनाले स्वर्गीय पदम गुरुङको मृत्युको कारणमा शंकास्पद प्रश्नहरू खडा गरेको छ, यस कारण जॉंच कमिटीको निष्कर्ष र सिफारिसहरू जनताको पहुँचमा पुग्न महत्त्वपूर्ण छ।
मुख्य सचिवले आधिकारिक पत्रकार सम्मेलनमार्फत सर्वसाधारणलाई जॉंच रिपोर्टबारे जानकारी गराएको हुनाले यो रिपोर्ट सार्वजनिक दस्तावेज बनिसकेको उनले बताएका छन्। यस कारण नागरिक वा राजनीतिक संस्थालाई व्यक्तिगत रूपमा जॉंच रिपोर्टको प्रतिलिपी प्राप्त गर्ने अधिकार रहेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले निवेदन पूर्णरूपमा स्व. पदम गुरूङको न्यायको पक्षमा गरिएको दाबी गरेका छन्।