गान्तोक: हिजोदेखि शुरू भएको दशौं सिक्किम विधानसभाको सातौं सत्र अन्तर्गत आज कुल ६ वटा विधेयक पारित गरियो। हिजो सदनमा एउटा संशोधन विधेयक र पाँचवटा नयाँ विधेयक पेश गरिएको थियो, जो आज बिना बहस पारित भएको छ।
सत्रको पहिलो दिन हिजो सदनमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम वस्तु एवं सेवा कर संशोधन विधेयक पेश गरेका थिए भने शिक्षा मन्त्री केएन लेप्चाले दुईवटा विधेयक प्रस्तुत गरेका थिए, जसमा सिक्किम गुरू पद्मसम्भव विश्वविद्यालय र सिक्किम सरदर पटेल विश्वविद्यालय विधेयक रहेको थियो। उक्त विधेयकहरू आज बिना बहस पारित गरियो।
यसरी नै मन्त्री भीमहाङ सुब्बाले पनि दुईवटा विधेयक सदनमा प्रस्तुत गरेका थिए, जसमा नेशनल काउन्सिल फर् स्किल एजुकेशन र एडटेक स्किल्स विश्वविद्यालय विधेयक रहेको थियो। उक्त विधेयक पनि आज पारित गरिएको छ। सोही प्रकारले मन्त्री एलबी दासले सिक्किम एरियल रोपवेज् विधेयक प्रस्तुत गरेका थिए भने सो विधेयक पनि आज विना वहस पारित भयो।
यसरी नै विधायक एवम् पव्लिक एकाउन्ट कमिटीका अध्यक्ष अदित्य गोलेले आज सदनमा १३२औं सिक्किम स्टेट लटरिजको वर्ष २०१०-११ को निम्ति अडिट रिपोर्ट प्रस्तुत गरे।