गान्तोक: रानीपुलदेखि गान्तोकसम्मको ट्राफिक समस्यालाई ध्यानमा राख्दै उक्त समस्या समाधान गर्ने उद्देश्यले राज्य सरकारले सिक्किम सिक्किम एरियल रोपवेज विल आज सदनमा पारित गरेको छ। आज सदनमा पारित गरिएको विल राज्यपालले स्वीकृति दिएपछि यो कानून बन्ने शहरी विकास विभाग मन्त्री एललबी दासले जानकारी गराए। आज पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री दासले हालसम्म रोपवेलाई लिएर सिक्किममा कुनै कानून नभएकोले यो विधेयक ल्याएको उनको भनाइ रहेको छ। राजधानीमा दिन प्रतिदिन ट्राफिक जामको समस्या बढिरहेको छ, जसको कारण यात्रीहरू साथै ट्राफिक पुलिसलाई पनि समस्या भइरहेको उनले उल्लेख गरे। यदि राजधानीमा रोपवे सञ्चालन गर्न सकेको खण्डमा ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुन सक्ने मन्त्री दासले विश्वास व्यक्त गरेका छन्। रोपवे पहाडी क्षेत्रमा मात्र नभएर यो सानो र साँघुरो शहरहरूमा पनि सञ्चालन भइरहेको बताए। उनको भनाइ अनुसार राज्यमा कानून नभएको कारण रोपवेमा कुनै दुर्घटना भएको खण्डमा यसको जिम्मेवार कसले लिने भन्ने प्रश्न उठने भएकोले कानून बनाउने सरकारले निर्णय लिएको जानकारी गराए।