गान्तोक: हिजोदेखि शुरू भएको सिक्किम विधानसभाको समापन दिन धन्यवाद ज्ञापनको क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सरकारको लापारवाहीका कारण राज्यका जनताले सजाय भोग्नु परेको बताए।
गत ४ अक्टोबरको घटनालाई लिएर विपक्षी पार्टीहरूले सरकारलाई दोष्याउने गरेको बताउँदै यहॉं धान खाने मुसो चोट पाउने भ्यागुता जस्तो भएको उनले बताए।
पूर्व सरकारले गुणस्तरीय बाँध निर्माणमा ध्यान दिएको भए ४ अक्टोबरको प्रकृतिक प्रकोपले राज्यमा यति धेरै क्षति नहुने उनले दावी गरे। विपक्षी पार्टीले मुख्यमन्त्रीले सो घटनाबारे १०:४० बजी सूचना पाएको आरोपको स्पष्टीकरण दिँदै आफू ११:३० बजीसम्म मंगनका जनतासँग भेटिरहेको थिएॅं भनी बताए। उनले थप जानकारी गराए, अनुसार ११:३० बजी मंगनदेखि गान्तोक आउने क्रममा कवि लुङचोकमा आइपुग्दा फोन आएको र त्यसबेला १२:३० बजेको थियो।
यस घटनाको सूचना पाउनसाथ सबै अधिकारीहरूलाई फोन गरेर टिस्टा नदीको किनारमा बसोबासो गरेका मानिसहरूलाई सुरक्षित स्थानमा लैजानु पर्ने निर्देश दिएको मुख्यमन्त्रीले आफ्नो धन्यवाद प्रस्ताव राख्दै सदनलाई जानकारी गराए। सही समयमा आफूले सूचना दिएको कारण हजारौं मानिसहरूको ज्यान बाचेको पनि उनको भनाइ रहेको थियो। मंगनमा जनता भेट्ने क्रममा आफूसँग मंगन जिल्लाका जिल्लापाल लगायत अन्य अधिकाहरू पनि साथमा रहेको र त्यस बेलासम्म कुनै प्रकारको घटना भएको सूचना नआएको उनले बताए।
तर मुख्यमन्त्रीले छिटो थाह पाएर पनि सूचना नदिएको भन्ने विपक्षी दलको आरोपको उनले तीब्ररूपमा खण्डन गरे। चुङथाङमा निर्मित जलविद्युत परियोजनाको बाँध फुटेपछि टिस्टा नदीको किनारमा बसोबासो गर्नेहरूलाई अधिक क्षति पुगेको बताउँदै यदि उक्त बाँध गुणस्तरीय ढङ्गमा निर्माण भएको भए यस यति धेरै धनजनको क्षति नहुने पनि उनले किटान गरे।
उक्त ड्याम फुटेपछि सरकारलाई धेरै नोक्शानी भएको र यसको पुनर्निर्माण गर्न चार वर्षको समय लाग्न सक्ने मुख्यमन्त्रीले सम्भावना व्यक्त गरे। उत्तर जिल्लामा ड्याम बनाउनु हुँदैन भनेर त्यसबेला त्यहाँका मानिसहरूले तीन वर्षसम्म राजधानीमा अन्सन बस्दा पनि तत्कालिन सरकारले जनताको आवाज नसुनेकाले यस प्रकारको घटना भएको उनले बताए। वर्तमान सरकार जनताको भएकाले जनताको कुरा सुन्ने र जनताले जे भन्छ त्यसलाई नै शिरोपर गर्ने उनले बताए।
धन्यवाद दिने क्रममा भारतीय जनता पार्टीका दुई जना विधायक सोनाम भेञ्चोङपा र वाईटी लेप्चाले पनि सहभागिता जनाएका थिए।