गान्तोक: सिक्किम राज्यलाई शिक्षाको केन्द्र अर्थात एजुकेसन हब बनाउने उद्देश्य लिएर वर्तमान सरकारले काम गरिरहेको छ। राज्यमा धेरै विश्वविद्यालयको निर्माणले राज्यको वेरोजगार समस्या समाधान हुनको साथै विद्यार्थीहरूले चाहे जस्तो शिक्षा हासिल गर्न सक्ने शिक्षा मन्त्री केएन लेप्चाले जानकारी गराएका छन्। उच्चस्तरको शिक्षा राज्यको कुनाकुनामा पुगोस् भन्ने वर्तमान मुख्यमन्त्रीको परिकल्पना रहेको कारण राज्यमा धेरैवटा विश्वविद्यालयहरूको निर्माणमा सरकार लागिपरेको बताए। विशेष गरेर गाउँ बस्तीमा विश्वविद्यालको निर्माण गर्नाले सो गाउँको विकास स्वतः भएर जान सक्ने पनि उनले दावी गरेका छन्। सरकारको मुख्य उद्देश्य शिक्षाको माध्यमद्वारा पर्यटन क्षेत्रको विकास गर्ने रहेको मन्त्री लेप्चाको भनाइ रहेको छ। आज सिक्किम विधानसभामा पारित गरिएको दुई वटा विश्वविद्यालय मध्ये एउटा स्यारी निर्वाचन क्षेत्रमा स्थापना गरिने छ भने अर्को जोरथाङमा निर्माण हुने उनले बताए। राज्यमा भित्रिने यी विश्वविद्यालयहरूको नियन्त्रण राज्य सरकार स्वंयले गर्ने पनि उनले दावी गरेका छन्। यदि कुनै पनि विश्वविद्यालयले सरकारको नियम सही ढङ्गमा पालन नगरेको खण्डमा सरकारले कुनै पनि कारवाही गर्न सक्ने मन्त्रीले थप बताए।