गान्तोक: हिजोदेखि टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा तीन दिवसीय राज्यस्तरीय वाल बैज्ञानिक प्रदर्शनी शुरू भयो। स्टेट काउन्सिल अफ् एजुकेसन रिसर्च एण्ड ट्रेनिङ, नेशनल काउन्सिल अफ् एजुकेसनल रिसर्च नयाँ दिल्लीको संयुक्त पहलमा आयोजित उदघाटन कार्यक्रममा राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। सो कार्यक्रमको यस वर्षको प्रतियोगिताको विषयवस्तु “समाजका लागि विज्ञान र प्रविधि” रहेको छ – उप-विषयवस्तुहरू – स्वास्थ्य, जीवन शैली (वातावरणका लागि जीवन शैली), कृषि, सञ्चार रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लेप्चाले स्कूलका विद्यार्थीहरूको लागि राज्य स्तरको कार्यक्रम आयोजना गर्न र उनीहरूलाई आफ्नो प्रतिभा र क्षमताहरू प्रदर्शन गर्ने अवसर दिएकोमा एससीआआरटी सिक्किमको खुलेर प्रशंसा गरे। उनले यस्ता प्रतियोगितामा सहभागी भई वैज्ञानिक दृष्टिकोण विकास गर्न विद्यार्थीलाई आग्रह पनि गरे। उनले कार्यक्रममा सहभागी तथा आयोजक टोलीलाई कार्यक्रम सुचारु रुपमा सम्पन्न गर्नका लागि शुभकामना व्यक्त गरे। यस कार्यक्रममा ३८ वटा सरकारी विद्यालय र ८ वटा निजी विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका छन्। यस प्रतियोगिताबाट उत्कृष्ट दसवटा विद्यालयले आगामी जनवरी महिनामा पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना हुने जोनल लेवलको प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन्।