विधानसभा अध्यक्ष, सदनका नेता र विधायकहरूले गरे घटनालाई लिएर शोक व्यक्त
गान्तोक: गत ३ र ४ अक्टोबर बीचको राति टिस्टा नदिमा आएको विनाशकारी जलप्रलयको गर्जन राज्य विधानसभामा पनि सुनियो। आज विधानसभामा १ घण्टा ४० मिनटसम्म टिस्टा जलप्रलयमाथि चर्चा चल्यो।
दुई दिवसीय विधानसभा सत्रको पहिलो दिन सदनको शुरुमा नै टिस्टा जलप्रलयमाथि शोक प्रस्ताव राखिएको थियो, जसमा विधानसभा अध्यक्ष अरुण कुमार उप्रेती र सदनका नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलगात अन्य सदस्यहरूले भाग लिए। यसको साथै सदनमा यस प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउनेहरूको आत्माको शान्तिको निम्ति दुई मिनटको मौनधारण पनि गरियो।
टिस्टा जलप्रलयले गरेको ज्यानमालको क्षयक्षतिमाथि गहिरो शोक व्यक्त गर्दै विधानसभा अध्यक्ष अरुण कुमार उप्रेतीले यसलाई जलवायु परिवर्तनको नकारात्मक परिणाम बताए।
यसरी नै मुख्यमन्त्री तामाङले पनि घटनालाई लिएर शोक व्यक्त गर्नुको साथै मृतात्माहरूको शान्तिको कामना गरे। मुख्यमन्त्रीले भने, राज्य सरकार सदैव पीड़ितहरूको साथमा छ। उनले प्राकृतिक प्रकोपका पीड़ित र प्रभावितहरूका राहत र पुनर्वासका लागि सरकारले घोषणा गरेका सिक्किम पुनर्वास आवास योजना र जनता हाउजिङ कलोनी लगायत अन्य योजनाहरू बारे जानकारी गराए। मुख्यमन्त्री तामाङले यस विपदको समय सहयोगको हात अघि बढ़ाउने सबै सहयोगी मनहरूलाई राज्य सरकारको पक्षमा धन्यवाद पनि दिए।
विधानसभा सदस्य तथा भारतीय जनता पार्टीका सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले टिस्टा जलप्रलय प्राकृतिक प्रकोप थियो कि मानवनिर्मित आपदा भन्दै प्रश्न तेर्साए। कतै यसमा सदनका सदस्यहरूकै पनि गल्ती त थिएन भन्दै उनले यस विषयमा गहन चिन्तन गरिनुपर्ने मन्तव्य जाहेर गरे। टिस्टा नदीमा जलस्तर बढ़ेको सूचना समयमा दिन सकिएको भए ज्यानमालको क्षतिलाई कम गर्न सकिने उनको भनाइ रहेको छ।
टिस्टा जलप्रलयले अधिक ज्यानमालको क्षति गर्नुमा राज्य सरकारको कमजोरी र गल्ती रहेको उनले आरोप लगाए। यसको साथै यस विपदको समय आरोप-प्रत्यारोप नगरेर सबैले सामूहिक जिम्मेवारी वहन गर्नुपर्ने पनि विधायक थापाको भनाइ रहेको छ। उनले भने, यस विपदको समय हामी सरकारको साथमा छौं। यसै सन्दर्भमा बोल्दै उनले यस समय सिक्किम राज्यलाई अधिक धनराशिको आवश्यक्ता परेकोले एउटा संयुक्त प्रतिनिधि टोली दिल्ली जाने सुझाउ पनि राखेका छन्।
शोक प्रस्तावमा मन्त्रीहरू सामडुप लेप्चा, एलबी दास र कर्मा लोडे साथै विधायक पिञ्चो नामग्यल लेप्चाले पनि भाग लिएका थिए। रम्फूको आईबीएम क्षेत्रमा घेरैवटा घरहरू टिस्टा नदीको बगर मिचेर निर्माण गरिएको भन्दै मन्त्री दासले चिन्ता जताएका छन्।
उनको भनाइअनुसार, हालको प्राकृतिक प्रकोपले प्रभावित घरहरू मध्ये २४ वटा घर नालीमाथि निर्माण गरिएको थाहा लाग्यो। यसरी नियमलाई मिचेर गैरकानुनी रुपमा घर बनाउने अनुमति कसले दियो भन्दै उनले प्रश्न तेर्साएका छन्। यसको साथै उनले आगामी दिनमा यस क्षेत्रमा घरहरू निर्माण गर्ने अनुमति दिँदा विशेष ध्यान राखिनुपर्ने तथा उचित कानून बनाउनुपर्ने मन्तव्य पनि जाहेर गरे।
आईबीएम क्षेत्रमा धेरै साना-ठूला उद्योग धन्धाहरू पनि पूर्णरुपले प्रभावित भएको छ भन्दै राष्ट्रिय आपदा दिशानिर्देशअनुसार भएन भने पनि अरु कुनै उपाय गरेर पनि उनीहरूलाई आफ्नो खुट्टामा उभिन सहयोग गर्नुपर्ने कुरामा मन्त्री दासले जोर दिएका छन्।
यसरी नै मन्त्री कर्मा लोडे भोटियाले आफ्नो क्षेत्रको डिक्चू बजार मुन्तिर टिस्टा नदिमाथि निर्मित एनएचपीसी-को बाँधबाट सिर्जना भएको खतरालाई लिएर चिन्ता व्यक्त गरे। जलविद्युत परियोजनाहरूको दुष्परिणाममाथि जोर दिँदै भोट ब्याङ्कलाई हेरेर कुनै पनि निर्णय लिनु नहुने उनले बताए।