कालचिनी: अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएशनद्वारा आज अलिपुरद्वार स्थित एनबीएसटीसी अधिकारी समक्ष डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ पर्ने कुमारग्राम खण्डको सुनकोशदेखि झारखण्डको रॉंचीसम्म दुईवटा एनबीएसटीसी बस परिसेवाको माग ज्ञापनमार्फत चढ़ाएको जानकारी अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएशन (एबीएएसए) कालचिनी ब्लक सचिव हाकिम महलीले दिएका छन्|
आज अलिपुरद्वार एनबीएसटीसीमा पुगेर उक्त दाबी चढ़ाएको बताउँदै डुवर्सको चियाबारी औ बस्ती क्षेत्रमा लाखौँ लाखको संख्यामा आदिवासीहरू रहेको पहिलादेखि पैतृकथलो झारखण्डको रॉंची गुमला आदि ठाउँहरूमा आउजाउ चलिरहेको तर आजसम्म सरकारी बस परिसेवाको अभावमा झारखण्ड पुग्न डुवर्सका आदिवासीहरू वञ्चित हुन परेकोले नै सरकार समक्ष यो ज्ञापन सुम्पिएको हाकिम महलीले जनाएका छन्| डुवर्सको आदिवासी जनताको निम्ति यो एकदमै सठीक माग रहेकोले शीघ्रै सम्बन्धित विभागले यसलाई पुरा गर्ने आशा रहेको अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएसनका कालचिनी ब्लक सचिव हाकिम महलीले जनाएका छन्|