कालचिनीः कार्कीनोस नामक एउटा गैर राजनैतिक संस्थाको पहल र मेचपाड़ा डुवर्स वेलफेयर सोसाइटीको सहयोगितामा बिहीबार कालचिनी स्थित एथलेटिक क्लबमा सो संस्थाका प्रायः ४४ जना स्वयंसेवकहरूलाई लिएर एउटा सचेतना कार्यक्रम सम्पन्न गरियो। मूलतः कार्कीनोस नामक संस्थाद्वारा हाल अलिपुरद्वार जिल्लाको कालचिनी खण्डमा जम्मा ४४ जना स्वयंसेवकहरूलाई समेटेर क्यानसर रोगमाथि सर्भे चलाईरहेको र यस कार्यमा मेचपाड़ा डुवर्स वेलफेयर सोसाइटीले सहयोगिताको हात बढ़ाएको सोसाइटीका सचिव महिपाल सुब्बाले जनाएका छन्।
बिहीबार सम्पन्न कार्यक्रम मार्फत कार्कीनोस संस्थाका स्वयंसेवकहरूलाई परिचय गराउन कार्यक्रममा कालचिनी, चुवापाड़ा र मेन्दाबारी ग्राम पञ्चायतका प्रधान औ उपप्रधानलाई निम्त्याएको थियो भने ग्राम पञ्चायत र प्रशासनिक स्तरमा मदत गर्ने वाचा दिईएको मेन्दाबारी ग्राम पञ्चायतका प्रधान चन्द्रा नार्जीनारीले जनाएकी छन्। कार्यक्रमको उद्घाटन समारोहमा प्रधान चन्द्रा नार्जीनारी लगायत कालचिनी ग्राम पञ्चायतका प्रधान ज्योति गुरुङ, चुवापाड़ा ग्राम पञ्चायतका प्रधान सुबन्ती चीक बडाइक एवम् कार्कीनोस संस्थाका अलिपुरद्वार जिल्ला प्रोग्राम कोर्डिनेटर सुभम सरकार र कालचिनीका सुपरभाइजर सारदा छेत्री एवम् अन्यान्यको उपस्थिति रहेको थियो। क्यान्सर रोगको कारण र यसको उपचार आयुष्मान हेल्थ कार्डको माध्यमबाट कसरी गर्न सकिने सो बारे पनि जानकारी गराईएको र यसका स्वयंसेवकहरूले कालचिनी खण्डको ११ वटा ग्राम पञ्चायत क्षेत्रमा सर्भे मार्फत काम गर्ने अवगत महिपाल सुब्बाले गराएका छन्।