कालचिनीः अनिश्चितकालिन समयको निम्ति अन्ततः कालचिनी चियाबारी बन्द रहेको नोटिस बिहीबार जारी भएपछि कमानको प्रायः २००३ श्रमिक परिवारको भविष्यमाथि अनिश्चितता छाएको छ। गत ३१ अक्टोबरको दिनदेखि नै कमानको सिनियर म्यानेजरले आफूले कमानबाट राजीनामा दिएको कुरा श्रमिक र यूनियन नेताहरूमाझ भाइरल भईसकेको थियो यद्यपि कमानको श्रमिकहरूले बुधबार पनि यसै अनिश्चितताबिच कमानमा आफ्नो काम पुरा गरेको थियो। तर यसबीच अचानक कमानबाट सिनियर म्यानेजर सुटुक्क भागेको घटनाले कमान बन्द भएको गन्ध श्रमिकहरूले पाईसकेको थियो।
बिहीबार मात्र कालचिनी चियाबारीको सञ्चालक तथा वर्तमान मालिकले कुसुम उद्योग लिमिटेडको लेटर प्याडमा प्रायः ७ वटा कारणहरू देखाउँदै कमान अनिश्चितकालीन समयको निम्ति कार्यान्वयनमा नरहने अधिसूचना जारी गरेको थाह पाएपछि कमानको श्रमिकहरूले आक्रोश व्यक्त गर्न थालेका छन्। दुईवटा पाक्षिक वेतन नपाएको र आजसम्म पीएफ र ग्रेच्युटी लगायत मूलभुत अधिकारहरू कमानबाट नपाएकोले पाकेको वेतन अदय गर्न श्रमिकहरू आगामी शनिबार कालचिनी चियाकमानको मालिक सुशील मित्रुकाको घर घेराउ गर्न जाने भएका छन्। कमान खोल्दा कालचिनीको काल अब हटेर जाने र चीनी अर्थात मिटो दिन श्रमिकहरूले उपभोग गर्न पाउने भन्ने मालिक सुशील मित्रुकाको टिप्पणीको जवाफ तिनले एवम् कमान खोल्दा उपस्थित भाजपाका विधायकगण र सांसद तथा मन्त्री जोन बारलाले दिनु पर्ने कमानको यूनियन प्रतिनिधिहरूले बयान दिएको छ। बुधबारको दिन नै कमानको म्यानेजर भागेकोले बिहीबार कालचिनी चियाकमानमा सबै काम बन्द रहेको थियो भने तिहारको मुखमा यसरी कमान बन्द गराएकोले कालचिनी चियाबारीका प्रायः २००३ श्रमिक परिवारमा मर्का परेको छ।
कमानका यूनियन नेता गणेश लामाले श्रमिकहरूको हक लिन कुनै पनि हदको आन्दोलन गर्न आफूहरूपछि नपर्ने जनाएका छन्। यता श्रमिकहरूले नोटिसमा जारी गरिएको सबै कारणहरू झुटो रहेको जनाएका छन्।