साेरेङ: एनसीओआरडीको मासिक बैठक हिजो सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा जिल्लापालले सोरेङ जिल्लामा विद्यमान लागुऔषध दुरुपयोगको समस्याबारे जानकारी गराएका थिए।
यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिँदै उनले सबै सरोकारवाला समेटेर बृहतरूपमा पहल गर्नुपर्ने अवगत गराए।
उनले जिल्लामा अनुसूची एक्स र शेड्युल एच औषधिकोबारेमा स्वास्थ्य विभागसँग जानकारी लिँदै यसको दुरुपयोगबाट हुने खतराबारेमा जनतालाई सचेत गराउन आग्रह गरे। उनले जिल्ला प्रहरी प्रशासनलाई आगामी महिना लागुऔषध ओसारपसार विरुद्ध विशेष अभियान चलाउन पनि आग्रह गरे, जुन लागुऔषध दुर्व्यसनको शिकार भएकाहरुको निम्ति लाभदायक हुने बताए।
जिल्लापालले अतिरिक्त जिल्लापाल र खण्ड विकास अधिकारीहरूलाई आ-आफ्नो क्षेत्रमा लागुऔषध दुरुपयोगको खतरा र समाजमा यसको प्रभाव सम्बन्धी ग्राम सभामा सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिए। उनले यस क्षेत्रमा रहेका औषधि कारखाना सम्बन्धमा कडाईका साथमा लक्षित वर्ग र शैक्षिक संस्थाहरुका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देश दिए।