कालचिनीः आज अपरान्ह समयदेखि अचानक कमानका प्रबन्धकहरू कमानको कार्यालय र बङ्गलोमा देखा नपर्दा बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी चियाबारीका श्रमिकहरू कतै कमान बन्द त भएको होईन भन्ने कुरामा सशंकित भएका छन्। बुधबार बिहान श्रमिकहरू सबै काममा गएको र सबैले काम गरेर घर फर्किएको तर कमानको सिनियर म्यानेजर अचानक अपरान्ह बेलादेखि बङ्गलो छोड़ेर सुटुक्क गएकोले कमानमा श्रमिकहरूमाझ खुल्दुली मच्चिन थालेको यूनियन नेताहरूले जनाएका छन्।
कमान बन्द भएको हो वा होइन यसबारे कुनै लिखित सूचना साँझसम्म नपाएकोले कमान बन्द भएको किटान गर्न नसकिने कतिपय यूनियन प्रतिनिधिहरूले जनाएका छन्। यद्यपि साँझसम्म कमानको कार्यालयमा सिनियर म्यानेजर लगायत अन्यान्य प्रबन्धक औ स्टाफहरू कोही नरहेकोले श्रमिकहरूबिच कमान पक्कै पनि मालिकको इसारामा बन्द गरेर प्रबन्धकहरू टाप कसेको हुनसक्ने आशङंका छाएको छ। कमानका श्रमिकहरूले जनाएअनुसार, दुईवटा पाक्षिक वेतन श्रमिकहरूले पाएका छैनन् भने आउँदो शनिबारसम्म जम्मा तीनवटा पाक्षिक वेतन श्रमिकहरूले पाउन पर्नेछ। कमान बन्द हो वा होइन यसको सुनिश्चितता बिहीबार बिहान मात्र हुने कालचिनी चियाबारीको यूनियन नेताहरूले जनाएका छन्।