खरसाङ: आसानबाट आएका चारजना साहित्यकारहरूसित आज खरसाङका साहित्यकारहरूमाझ सौहार्दपूर्ण भेटघाट र साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। आसामबाट आएका साहित्यकारहरू र खरसाङका साहित्यकारहरूमाझ यहाँको गोर्खा जनपुस्ताकालय भवनको अध्ययन कक्षामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आसामबाट आएका चारजना साहित्यकारहरू क्रमैले असम नेपाली साहित्य सभाको महासचिव एंव साहित्यकार रूद्र बराल, साहित्यकार कृष्णनिरू कार्की, साहित्यकार एंव असम नेपाली साहित्य सभाको सदस्य हेमन्त भट्टराई, असम नेपाली साहित्य सभा उदालदडी जिल्लाको सभापति लक्ष्मण अधिकारी आदि उपस्थित थिए। चारैजना असमबाट दार्जिलिङ, खरसाङ, कालेबुङ, मंग्पु, सिक्किमको साहित्यिक भ्रमणमा आएको जानकारी प्राप्त भएको छ। यस अवसरमा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट सबैलाई स्वागत जनाइएको छ। उक्त भेटघाट कार्यक्रमलाई पुस्ताकालयको सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने सभापति पूर्ण गुरुङ निरुपमले अध्यक्षता गरेका थिए। चारैजनालाई पुस्तकालयको पक्षबाट अध्यक्ष पूर्ण गुरुङ निरुपमको बाहुलीबाट खदार्पणसहित स्वागत जनाइएको थियो। यस अवसरमा असमबाट आएका चारैजना साहित्यकारहरूमध्ये वरिष्ठ साहित्यकार एंव असम नेपाली साहित्य सभाको महासचिव रुद्र बरालले आफ्नो सम्बोधनमा यो हाम्रो अनौपचारिक भ्रमण रहेको र गर्मीको छुट्टीलाई सदुपयोग गर्दै साहित्यिक भ्रमण गरेको बताएका छन् । उनले हामी आफ्नो पुस्तकहरू दिएर जानेछौं र तपाईहरूको पुस्तकहरू पनि लिएर जानेछौं भन्दै अहिले सामाजिक सञ्जालले गर्दा सिर्जनाहरू पढ्न पाईरहेका छौं तर यता प्रकाशित हुने मूल्यवान पुस्तकहरू हामीले उता चाहेर पनि पढ्न नपाएको बताउँदै यता र उताको साहित्यिक र व्याकरणगत रुपमा भिन्नता रहेको बताएका छन्। उनले भारतीय नेपाली भाषामा एकरूपता आउनु नितान्त आवश्यक रहेको पनि बताएका छन्।

कार्यक्रममा अन्य तीनजनाले पनि आफ्नो वक्तव्य राख्दै कविता पनि पठन गरेका थिए। कार्यक्रममा असममा भईरहेको नेपाली साहित्य र यता दार्जिलिङ क्षेत्रमा भईरहेको नेपाली साहित्यिक गतिविधिहरू र साहित्यिक लेखन कार्य विषयमा चर्चा परिचर्चा गरिएको छ। असमबाट आएका चारजना साहित्यकारहरूले गर्मीको छुट्टीको समयलाई सदुपयोग गरेर अनौपचारिक रूपमा साहित्यिक भ्रमणमा रहेको बताएका छन्। यस अवसरमा यता खरसाङको साहित्यकारहरूको पक्षबाट पनि कविता पठन साथै साहित्यिक गतिविधि र लेखन विषयमा चर्चा परिचर्चा गरिएको छ। खरसाङको पक्षमा प्राध्यापक योगेस खाती, आशा मुखिया लामा, तिलक शर्मा, पूर्ण गुरुङ निरुपम, विनोद रसाइली लगायत अन्यहरूले वक्तव्य राखेका थिए।