नेपालका अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी बीच भेटवार्ता, लगानी भित्र्याउने विषयमा छलफल

Screenshot_20231101_153755_Dailyhunt.jpg

काठमाडौं: नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री डा. महतको सचिवालयले जनाएको छ। भेटमा बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन परराष्ट्र मन्त्रालयको सहयोगका लागि अर्थमन्त्री महतले आग्रह गरेका छन्।कोभिड–१९ महामारीका कारण नेपालको वित्तीय स्रोत साधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानीयोग्य पूँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको अर्थमन्त्रीको भनाइ छ। उनले ग्लास्गोमा सम्पन्न कोप-२६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताए। उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे। जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत मन्त्री महतले आग्रह गरे।
उनले भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे। परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरिन्। उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement