नक्सलबारी: नक्सलबारी ब्लकको गोसाईपुर ग्राम पञ्चायतको भुजियापानी झाँट स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यमा निम्न स्तरको सामग्री प्रयोग गरेको आरोप लगाउँदै आज स्थानीय मानिसहरूले काम बन्द गरिदिए। उक्त घटनालाई केन्द्र गरेर इलाकामा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार स्वास्थ्य विभागको पहलमा ४३ लाख रुपियाँको लागतमा उक्त सुस्वास्थ्य केन्द्रको भवनको कार्य शुरू भएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार माटोमाथि पिलर उठाएकोले गर्दा अहिलेनै फाटो देखापरेको छ। सटीक रूपमा गार्ड वाल तयार गरिरहेको छैन। यसरी निम्न स्तरको सामग्री प्रयोग गरेर भवन निर्माण गरेको खण्डमा आगामी दिन चाँडै भत्किन सक्ने आशंका रहेकोले गर्दा आज गाउँलेहरूको निर्माण कार्य बन्द गरिदिएको बताइएको छ। यस विषयमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिकले फोन मार्फत् जानकारी गराएअनुसार यसबारे इञ्जिनियरसित कुराकानी भइसकेको छ। निर्माण कार्य राम्रैसित भइरहेको छ। भोलि घटनास्थलको निरीक्षण गर्ने तिनले आश्वासन दिएका छन्। अर्कोतिर, नक्सलबारी पञ्चायत समितिका सभापति आनन्द घोषले भने, यस कार्यबारे पञ्चायत समितिले कुनै खबर पाएको छैन। स्वास्थ्य विभागले यस कार्यबारे पञ्चायत समितिलाई जानकारी गराएको छैन। मिडिया मार्फत् खबर पाएपछि सिलगढी महकुमा परिषदलाई यस विषयमा जानकारी गराइएको छ। उहाँले घटनास्थलमा पुगेर पहल गर्ने आश्वासन दिनुभयो। निर्माणाधीनस्थलको निरीक्षण गरेपछि उचित पहल गरिने तिनले आश्वासन दिएका छन्।