पूर्व सरकारले आफ्नो राजनीतिक फाइदाको निम्ति समाजमा, जात-जातमा, धर्ममा भेदभावको नीति अप्नाएको थियोः मुख्यमन्त्री तामाङ
गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आज राष्ट्रिय एकता दिवस भव्यरूपमा पालन गरियो। यस कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिकोरूपमा रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राष्ट्रको एकता र अखण्डलाई अझ मजबुत बनाउने उद्देश्यले राष्ट्रले पहल गरिरहेको बताए। राष्ट्रलाई मजबुत बनाउने उद्देश्यले केही दिनअघि देशका सबै राज्यहरूबाट माटो संग्रह गरेर दिल्ली पुऱ्याएको र संग्रहित माटोद्वारा अमृत बाटिका तयार गरिने जानकारी गराए।
यसै क्रममा उनले गत 4 अक्टोबरको दिन सिक्किम राज्यमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरे। उक्त घटनालाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिँदै तत्काल राहत प्रदान गर्नको साथै पीडितहरूको पक्षमा राज्य सरकार सदैव खडा रहेको अवगत गराए। राज्य सरकारले पीडितहरूको समस्या कम गर्नका लागि सबै प्रकारको पहल शुरू गरेको जानकारी गराए।
आजको दिनको छुट्टै विशेषता रहेको जानकारी गराउँदै सरदार बल्लभभाई पटेल स्वयम्ले पनि देशलाई एकीकृत गर्नको निम्ति पहल गरेको राज्यपालले कार्यक्रममा बताए। सोही प्रकारले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले मनकी बात कार्यक्रम अन्तर्गत युवाहरूलाई विकसित भारतको निर्माणको निम्ति युवाहरूलाई एकजुट हुनुपर्ने आग्रह गरेको बताए। वर्तमान सरकारले केन्द्र सरकारद्वारा शुरू गरिएका सबै योजनाहरू इमान्दारपूर्वक कार्यान्वयन गरिरहेको पनि उनले बताए।
यसै क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा गत 4 अक्टोबरको दिन आएको बाढी प्रभावित परिवार र मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरे। आज सरदार बल्लभभाई पटेलको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसकोरूपमा देशभरि नै पालन गर्दै आइरहेको मुख्यमन्त्रीले जानकारी गराए। पटेलले आफ्नो दुरदर्शिता र दृढ संकल्पका साथ विभिन्न साना राज्य र प्रान्तहरूलाई नयाँ स्वन्तत्रता भारतमा एकीकृत गर्नमा अहंम भूमिका निर्वाह गरेको बताए।
एकजुट शक्तिशाली र समृद्धि भारतको निर्माणप्रति उनको दक्षता र प्रतिबद्धता एक ऐतिहासिक उदाहरण बन्न गएको जानकारी गराए। हाम्रो विविधता हाम्रो कमजोरी नभएर सबै भन्दा ठूलो शक्ति हुनेगरेको मुख्यमन्त्रीले मन्तव्य प्रकट गरे। प्रसङ्ग फेर्दै मुख्यमन्त्रीले एसकेएम पार्टी सरकारमा आउनसाथ शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको किटान गरे। राज्यका सबै अस्पतालहरूमा पूर्वधारको विकास गर्दै राज्यका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्नमा बर्तमान सरकार कटिबद्ध रहेको अवगत गराए। सरकार जनतासँग मिलेर दुःख सुख साट्दै एक बलियो र समृद्धि सिक्किम निर्माण गर्ने दिशामा सफलता हात पार्दै गइरहेको मुख्यमन्त्रीले जानकारी गराए।
पूर्व सरकारले आफ्नो राजनीतिक फाइदाको निम्ति समाजमा, जात-जातमा, धर्ममा भेदभावको नीति अप्नाएर सिक्किमे समाजलाई बिथोलेको आरोप लगाए। यस प्रकारको क्रियाकलाप निरन्तर चलेमा दिनदिनै कमजोर हुनको साथै आर्थिक संकटमा पर्ने बताए।
आजको यस कार्यक्रममा पाल्जर नामग्याल कन्या वरिष्ठ विद्यालय र देउराली कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी साथै सिक्किम पुलिसले पाइप व्याण्ड प्रदर्शन गरेको थियो। यसरी नै एसएसबी, एनसीसी, आईआरबीले परेडमा सहभागिता जनाएको थियो।