गान्तोक: मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गर्न हाल विभिन्न संघ संस्था साथै व्यक्ति विशेष अघि आएको देखिएको छ। यसै क्रममा आज रेमको सिमेन्ट लिमिटेडले मुख्यमन्त्री राहत कोषणा ५० लाख रूपियाँ प्रदान गरेको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन उत्तर जिल्लामा रहेको लोहनार्क झील परिसरमा बादल फाटेपछि राज्यको विभिन्न स्थानमा व्यापक क्षति भएको थियो। विशेष गरेर मंगन जिल्लाको चुङथाङ, लाचेन,लाचुङ र पूर्व जिल्लाको डिक्छु, सिङताम र आइबीएममा ज्यान मालको क्षति भएको थियो। वर्तमान राज्यको अवस्थालाई ध्यानमा राख्दै विभिन्न संघ संस्थाहरूले राज्य सरकारलाई आर्थिकरूपमा मजबुत बनाउनको निम्ति मुख्यमन्त्री राहत कोषमा सहयोग पुऱ्याउँदै आइरहेका छन्। आजको यस कार्यक्रममा मुख्यमन्त्रीका धर्मपत्नी कृष्ण राई, मन्त्री केएन लेप्चा, मन्त्री कर्मा लोडे भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै गेजिङको जिल्ला प्रशासनिक केन्द्रमा पनि राष्ट्रीय एकता दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराइन्। सोही प्रकारले नाम्ची जिल्लाका जिल्लापाल एम कुमार भरानीले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको राष्ट्रीय एकता दिवसको अवसरमा पुलिस अधिक्षक डा. छिरिङ नामग्याल ग्याछो, महकुमा अधिकारी (मुख्यालय) एनके कार्की लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसै क्रममा सोरेङ जिल्लामा पनि राष्ट्रीय एकता दिवस सामान्य ढङ्गमा पालन गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा जिल्लापाल भीम ठटालले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। यस कार्यक्रममा अतिरिक्त जिल्लापाल (विकास), एएसपी, महकुमा अधिकारी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा गत ४ अक्टोबरको दिन टिस्टा नदीको बाढको चपेटमा परि ज्यान गुमाउनेहरूको निम्ति एक मिनटको मौन धारण पनि गरियो। राष्ट्रीय एकता दिवस मनाउने क्रममा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले पनि विभागका सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। उल्लेखीय छ, प्रत्येक वर्ष ३१ अक्टोबरको दिन सरदार बल्लब भाइ पटेलको जन्म जयन्तीको अवसरमा राष्ट्रीय एकता दिवस देशभरिनै पालन गरिन्छ।
।