गान्तोक: सिक्किम बीटबक्स कम्यूनिटीले आगामी 5 नोभेम्बरको दिन राजधानीको मनन केन्द्रमा हिमालयन बीटबक्स च्याम्पियनशीप आयोजना गर्ने भएको छ। मनन केन्द्रमा आयोजना हुने यस प्रतियोगितामा सिक्किमलगायत पूर्वोत्तर भारतका सबै राज्य साथै देशका विभिन्न प्रमुख शहर र छिमेकी राष्ट्र भुटानबाट पनि बीटबक्सरहरूले भाग लिने बताइएको छ। सिक्किम बीटबक्सर कम्यूनिटीका अध्यक्ष पेम्बा सिङ्गी लामाकाअनुसार यो प्रतियोगिता पूर्वोत्तर भारतकै सबैभन्दा ठूलो बीटबक्स प्रतियोगिता हुनेछ।
बीटबक्स आधुनिक सङ्गीतको एउटा प्रारुप हो जसमा मुखबाट भिन्न-भिन्न आवाज निकालेर सङ्गीतवद्ध गरिन्छ। बीटबक्सलाई लिएर आमसर्वसाधरणमा कतिपय गलत धारणाहरू रहेकोले त्यसलाई समाप्त गर्नु साथै नशालु पदार्थको सेवन विरुद्ध जागरुकता ल्याउनु पनि यो च्याम्पियनशीपको प्रमुख उद्देश्य रहेको आयोजकपक्षको भनाइ रहेको छ। यसका लागि कार्यक्रमअवधि केही चर्चिच स्रोतवक्ताहरूले सम्बन्धित विषयमा वार्ता पनि प्रस्तुत गर्ने अध्यक्ष लामाले जानकारी गराए। यसको साथै हाल बिमारी अवस्थामा रहेका आफूहरूका एक साथी ललन कुमारको उपचारको लागि सहयोग राशि सङ्ग्रह गर्नु पनि यो कार्यक्रम आयोजना गरिएको उनले थप बताए। तथापि, सर्वसाधरणकालागि भने यो कार्यक्रम निःशुल्क रहेको उनको भनाइ रहेको छ।
अध्यक्ष लामाले जानकारी गराएअनुसार आगामी ५ नोभेम्बरको दिन आयोजना हुन गइरहेको कार्यक्रम हिमालय बीटबक्स च्याम्पियनशीपको दोस्रो संस्करण हो। यस अघि वर्ष २०२२मा पहिलो संस्करण सानो कार्यक्रमको रुपमा राजधानीको एउटा रेस्टुरेन्टमा आयोजना गरिएको थियो। यस वर्षको प्रतियोगितामा करिब २५ जना प्रतियोगीले भाग लिने जसको विजेतालाई रु. ४० हजार र उपविजेतालाई २० हजार नगत परस्कार प्रदान गरिने अध्यक्ष लामाले बताए।