सिलगढी: तृणमूलको दुई गुटका कार्यकर्ताहरूमाझ हातापाई भएको घटनालाई केन्द्र गरेर गत राति सिलगढीको शक्तिगढ इलाकामा उत्तेजनाको माहौल देखापर्यो। उक्त घटनामा गम्भीर रूपमा घाइते भएका एकजना तृणमूल कार्यकर्तालाई नर्सिङ होममा भर्ना गरिएको छ भने घटनाबारे एनजेपी थानामा लिखित अभियोग पनि दर्ता गरिएको छ। अभियोगको आधारमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति शक्तिगढ उज्ज्वल संघ मैदान अघि तृणमूलको दुई गुटका कार्यकर्ताहरूमाझ हातापाई हुँदा विप्लव दास नाम गरेको एकजना कार्यकर्ता गम्भीर रूपमा घाइते भएपछि तिनलाई खालपाडाको एउटा नर्सिङहोममा भर्ना गरिएको छ। यसैबीच घटनालाई लिएर दुवै गुटले एकअर्कालाई दोषारोपण गरिरहेको छ। गत केही महिना अघिदेखि शक्तिगढ इलाकामा तृणमूलको दुई गुटका कार्यकर्ताहरूमाझ झमेला चलिरहेको छ। गत राति पनि दुई गुटमाझ झमेला भएको थियो। एउटा गुटको आरोप अनुसार तृणमूलको विजय सम्मिलनी कार्यक्रमको निमन्त्रणा दिएर दुईजना कार्यकर्ता घर फर्किरहेको समय स्थानीय केही तृणमूल कार्यकर्ताहरूले तिनीहरूमाथि हमला गरेको बताइएको छ। तिनीहरूले यसभन्दा अघि पनि झमेला गर्नको साथै इलाकाको वातावरण खराब गरिसकेको छ। यसैगरी, अर्को पक्षको दावी अनुसार सो गुटका लगभग ८ जनाले आफूहरूमाथि हमला गरेको थियो भने घटनामा दुईजना घाइते भएका छन्। अर्कोतिर, घाइते विप्लव दासको स्वास्नीले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ।