खरसाङ: खरसाङमा अवस्थित टि रिसर्च सेन्टरमा श्रमिकहरूले वेतन र बोनस नपाएपछि आज कार्यालयमा धरणा प्रदर्शन गरेका छन्। भारत सरकारको उद्योग अनि वाणिज्य मन्त्रालय अन्तर्गत खरसाङको पंखाबारी रोडमा रहेको टि बोर्ड अफ् ईण्डियाको दार्जिलिङ टि रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टरमा कार्यरत् श्रमिकहरूले दुईपल्ट पन्ध्रको वेतन र बोनस पनि नपाएकोले आज श्रमिकहरूले बिहानदेखि धरणा प्रदर्शन गर्दै नाराहरू लगाएका छन्। श्रमिकहरूले टि रिसर्च सेन्टरमा आएर वेतन र बोनस नपाएको विषयमा सेन्टरको ईन्चार्च एंव चिया विकासको उप निर्देशक अनुपम दाससित पनि भेटेर कुराकानी गरेका थिए। सन् १९७६ सालदेखि नै खरसाङको यो सेन्टरमा चिया विषयमा रिसर्च हुँदै आएर १९८१ सालमा यस सेन्टरको भवन तत्कालीन भारतको उद्योग एंव वाणिज्य मन्त्री प्रवण मुखर्जीद्वारा उदघाटन गरिएको थियो।

यहाँ २०१५-१६ सम्म रिसर्चको काम गरिने भए पनि एनजेपीमा सेन्टर बनिएपछि उतै रिसर्चको काम हुँदै आएको बताइएको छ। यता खरसाङमा रहेको यस सेन्टरमा वर्तमानमा २० जना श्रमिकहरू, ३ जना स्टाफहरू, अस्थायी श्रमिकहरू १८ जना र कर्मचारीहरू पनि रहेको बताइएको छ। यस टि रिसर्च सेन्टरको श्रमिकहरूले वेतन र बोनस पाएका छैनन्। यसको लगायत मेडिकल सहुलियतको पैसा पनि विगत ७-८ महिनादेखि नपाएको जानकारी प्राप्त भएको छ। यसको लगायत पीएफको पनि समस्याहरू रहेको अनि अवकाशप्राप्त भएपछि बदलीमा कसैलाई नलगाएको पनि आरोप रहेको छ। त्यसरी नै अवकाश भएपछि पाउनु पर्ने पैसा पनि नपाएको बताइएको छ। यस विषयमा श्रमिकहरूका पक्षमा नारायण तामाङ र अमीत तामाङले पत्रकाहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्। दुवैले टि रिसर्च सेन्टरमा कार्यरत् श्रमिकहरूले पन्ध्रमा पाउने दुईपल्टको वेतन नपाएको र बोनस पनि नपाएको बताएका छन्। दुवैले बताए अनुसार हामीले वेतन र बोनस नपाएको साथै अन्य कतिपय सुविधाहरू नपाएपछि आज बिहानदेखि सेन्टर अघि धरणा प्रदर्शन गरिएको बताएका छन्।
सेन्टरको श्रमिकहरूले वेतन र बोनस नपाएको विषयमा सेन्टरको ईन्चार्च एंव चिया विकासको उप निर्देशक अनुपम दाससित पनि भेटेर कुराकानी गर्दा उनले श्रमिकहरूले सेप्टेम्बर महिनासम्म पाएको र अक्टोबर महिनाको दुईवटा पन्ध्रको वेतन नपाएको बताउँदै यस विषयमा आफुले लेखेर पठाएको र कुनै पनि समय कोष आउने बताएका छन्। उनले अहिले कोषमा पैसा नभएको कारणले नपाएको हो अनि श्रमिकहरू मात्रै होइन तर कर्मचारीहरुले पनि नपाएको बताएका छन्। यस सेन्टरको श्रमिकहरूको समस्याहरू विषयमा दार्जिलिङका सांसद राजु विष्टको प्रतिनिधिको रूपमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र खरसाङ गिध्द पहाड़ मण्डलको सभापति निशान सुनावर उपस्थित भई श्रमिकहरूको समस्या बुझेको र सेन्टरको ईन्चार्च एंव चिया विकासको उप निर्देशक अनुपम दाससित पनि भेटेर कुराकानी गरेका छन्।

उनीहरूले उप निर्देशकसित बातचीत गरेर श्रमिकहरूको तत्काल समस्या समाधानको लागि वेतन दिनु पर्ने मांग गरेका छन् भने यस समस्या विषयमा लिखित रूपमा जानकारी गराउने पनि बताएका छन्। यस विषयमा भाजपा जिल्ला सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै यस समस्या बुझ्नलाई सासंदले पठाएको र यस विषयमा यहाँको श्रमिकहरू र ईन्चार्चसित पनि बातचीत गरेको साथै सांसदलाई पनि जानकारी गराएको बताएका छन्। उनले सासंदले यस विषयमा लिखित रूपमा जानकारी दिनु भनेकोले हामी सांसदलाई यस समस्या विषयमा लिखित रूपमा जानकारी गराउने अनि श्रमिकहरूको समस्या समाधान गरिने कुरामा अघि बढ्ने बताएका छन्। सोनाम लामाले पहाड़मा स्थायी राजनैतिक समाधान भएपछि सबै समाधान हुने आशा व्यक्त गर्दै यस सेन्टरको श्रमिकहरूका समस्या समाधानको लागि सांसद राजु विष्टमार्फत् समाधान गर्ने विषयमा आशावादी रहेको बताएका छन्।