बाढ़ी पीड़ितहरूको जीवन सामान्य बनाउन सरकार प्रयासरत छः मन्त्री खरेल

IMG-20231029-WA0209.jpg

गान्तोक: गत ४ अक्टोबरमा टिस्टा नदीको विनाशकारी बाढ़ीले प्रभावित बनेका नामथाङ रातेपानी समष्टिको नामथाङ खण्ड प्रशासनिक केन्द्र अन्तर्गतका मोठ १०५ जनालाई मन्त्री सञ्जीत खरेलको बाहुलीबाट मुख्यमन्त्री राहत कोषमार्फत अनुदानका चेकहरू वितरण गरियो।

नामथाङ खण्ड प्रशासनिक केन्द्रबाट बुझाइएको रिपोर्टको आधारमा आज ३९ वटा घर पूर्ण रूपले क्षतिग्रस्त बनेका लाभार्थीहरूलाई एक-एक लाख रुपियाँ, ५९ जना भाड़ामा बस्ने घरविहीन बनेकाहरूलाई २०-२० हजार रुपियाँ अनि ७ जना बाढ़ी पीड़ित विद्यार्थीहरूलाई १०-१० हजार रुपियाँ गरेर चेक वितरण गरियो।

आफ्नो संक्षिप्त सम्बोधनमा मन्त्री सञ्जीत खरेलले बाढ़ी पीड़ितहरूको जीवन सामान्य रूपमा फर्काइल्याउन राज्य सरकार गम्भीर रहेको बताए। आज वितरण गरिएको अनुदान सहयोग अन्तिम नरहेको प्रष्ट पार्दै सबैलाई समान रूपले यस संकटबाट मुक्त गर्न सरकार प्रयासरत रहेको उनले जानकारी गराए।

भविष्यमा आइपर्ने यस्तै आपदाहरूलाई ध्यानमा राख्दै अबोपरान्त खोलाको डिलमा घरहरू निर्माण नगरे उचित हुने उनले सबैलाई सुझाउ दिएका छन्।

पूर्व सरकारकालमा भुइँचालोले घर बिग्रिएर पीड़ित बनिसकेका एक बाढ़ी पीड़ित मामरिङ ग्यामल पूल निवासी नरपति बाहुनले त्यसताक सरकारले आफ्नो घर क्षतिग्रस्त हुँदा पनि केवल १०,००० रुपियाँ दिएको दुखेसो साझा गरे। वर्तमान सरकारले आफुमाथि आइपरेको संकटको समयमा एक महिना नबित्दै यसरी सहयोग पाएकोमा राज्य सरकारप्रति कृतज्ञता प्रकट गरे।

यसरी नै अन्य लाभार्थीहरूले वर्तमान सरकारले जुन पहल गरिरहेको छ त्यसप्रति आफूहरू सन्तुष्ट रहेको विचार पोखेका छन्। आजको कार्यक्रममा मुख्यमन्त्रीका सचिव डा. एसडी ढकाल, शोध अधिकारी सूर्जे प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement