१८ जुलाईः भारतीय क्रिकेट टीमले ईंग्ल्याण्डलाई उनीहरूकै घरमा पिट्यो। वनडे सीरीजको तेस्रो तथा निर्णायक म्याचमा असाधारण प्रदर्शन गर्दै ५ विकेटले जीतको साथ टीम इण्डियाले सीरीज पनि २-१-ले झोलीमा हाल्यो। म्याचपछि भारतीय खेलाड़ीहरूले म्यानचेष्टरको ओल्ड ट्रेफर्ड मैदानमा मन खोलेर खुशीयाली मनाए। शिखर धवन र प्लेयर अव् द म्याच रहने रिषभ पन्तले कप्तान रोहित शर्मालाई श्याम्पेनले नुहाइ दिए। वनडे-मा पन्तको पहिलो शतक अनि हार्दिक पाण्ड्याको असाधारण अलराउण्ड प्रदर्शनको दममा भारतले ईंग्ल्याण्ड विरुद्ध वनडे सीरीज २-१-ले जित्यो। टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको टीम ४५.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो। कप्तान जोस बटलरले ६०, ओपनर जेसन रोयले ४१ र मोईन अलीले ३४ रन बनाए। जवाफमा भारतले ४७ बल बाँकी रहँदै ५ विकेट गुमाएर २६१ रन बटुल्दै जीत हासिल गऱ्यो।

म्याचमा विकेटकीपर ब्याटर रिषभ पन्तले वनडे क्रिकेटमा आफ्नो पहिलो शतक बनाए। साल २०१८-मा पदार्पण (डेब्यू) गर्ने पन्तले पहिलो शतकको निम्ति चार साल अनि २६ वटा वनडे म्याचसम्म प्रतीक्षा गर्नु पऱ्यो। उनले शतक पनि त्यस समय बनाए जब टीम चरम संकटमा परेको थियो। लक्ष्यलाई खेदो गर्दै भारतले शीर्ष तीन ब्याटर रोहित शर्मा, विराट कोहली र शिखर धवनलाई ९ ओभरभित्रै गुमायो। सुर्यकुमार यादव पनि केवल १६ रन बनाएर आउट भए। त्यस समय स्कोर ४ विकेटमा ७२ रन रहेको थियो। त्यसपछि पन्तले हार्दिकसँग शतकीय साझेदारी (१३३ रनको) गर्नको साथै शतक पनि बनाए। पन्तले 113 बल खेलेर १६ वटा चौका र २ वटा छक्काको सहायताले अविजित १२५ रन बनाए। उनले डेविड विलीको लगातार ५ बलमा ५ चौका पनि लगाए।

यसबाहेक ईंग्ल्याण्ड विरुद्ध हार्दिक सदा अलग मिजासमा रहन्छन्। कुनै पनि प्रारूपमा हार्दिकले यस प्रतिद्वन्द्वी विरुद्ध केही खास गरेर देखाउँछन् अनि आइतवार पनि त्यही भयो। पहिला बलिंग गर्दै उनले २४ रनमा ४ विकेट हासिल गरे, जुन वनडेमा उनको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। टेस्ट र टी२० प्रारूपमा पनि हार्दिकको सर्वश्रेष्ठ बलिंग प्रदर्शन यही टीम विरुद्ध रहेको छ। बलको साथ चमत्कारी प्रदर्शन गर्ने हार्दिकलाई ब्याटको साथ पनि विध्वंशी लयमा देखियो। उनले पन्तसँग मिलेर म्याचमा भारतलाई जीतको नजिक पुऱ्याए। हार्दिकले ब्याटको साथ ५५ बलमा १० वटा चौकाको सहायताले ७१ रन बनाए। चरम दबाउमा पन्तसँग शतकीय साझेदारीको अवधि उनले नै आक्रामक शट्हरू खेल्दै विपक्षी बलरहरूमाथि दबाउ सृष्टि गरे।

कोहली यस म्याचपछि एक महिनाको लामो ब्रेकमा गइरहेका छन् तर उनले ईंग्ल्याण्ड यात्रालाई यादगार बनाउन सकेनन्। सेट भएपछि उनी बाहिर गइरहेको बलमा शट् खेल्ने हुँदा १७ रन बनाएर आउट भए। यसरी उनले गत ५ वटा वनडे इनिंग्समा केवल ५९ रन बनाउन सके। उल्लेखनीय छ, ओल्ड ट्रेफर्डमै भारतले २०१९ विश्व कपको सेमिफाइनलमा हारको सामना गर्नु परेको थियो। अहिले रोहित शर्मा त्यही मैदानमा यादगार जीतको साथ ईंग्ल्याण्डको माटोमा वनडे सीरीज जित्ने तेस्रो भारतीय कप्तान बनेका छन्।

पन्तलाई प्लेयर अव् द म्याच र हार्दिकलाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो।