गान्तोक: सिक्किमकीसुपरिचित महिला राजनीतिज्ञ डा. वीणा बस्नेत सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को नयाँ उर्जा बनेकी छन्l हाम्रो सिक्किम पार्टी (एचएसपी)की पूर्व अध्यक्ष रहेकी डा. वीणा बस्नेत शनिबार आधिकारिक रूपमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)मा सामेल भएकी छन्। गान्तोकको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा सम्पन्न भएको भव्य कार्यक्रमबिच उनीसँगै राज्यका चर्चित व्यक्तिहरू एसडीएफमा सामेल भएका छन्। विशिष्ट व्यक्तिहरूको एसडीएफमा सामेल हुने बढ्दो क्रमसँगै राज्यको राजनीति पनि तात्तिन थालेको छ। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ स्वयं डा. वीणासहित अन्य विशिष्ट व्यक्तिहरूलाई पार्टीमा स्वागत जनाएका थिए। हाम्रो सिक्किम पार्टी (एचएसपी)की पूर्व अध्यक्ष डा. वीणा बस्नेत, सेवानिवृत्त नोकरशाहहरू एवं राज्यका विशिष्ट युवा बुद्धिजीवीहरूले एसडीएफमा सामेल भएपछि प्रमुख विपक्षी एसडीएफमा बौद्धिक युवाहरूको बढ्दो झुकाउले राज्यको राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ।

एसडीएफ अध्यक्ष पवन चामलिङले एसडीएफका पदाधिकारी र कार्यकर्ताहरूको उपस्थितिमा उनीहरूलाई खादा र पार्टीको झण्डा दिएर औपचारिक रूपमा पार्टीमा सामेल गराए। यस अवसरमा एचएसपी अध्यक्ष भाइचुङ भोटिया पनि विशेष अतिथिका रूपमा उपस्थित थिए। आफ्नो संक्षिप्त सम्बोधनमा पूर्व मुख्यमन्त्री चामलिङले नयाँ एसडीएफ २.० का सदस्यहरूलाई आफ्नो वार्ड र निर्वाचन क्षेत्रमा आफ्नो स्तरमा सार्वजनिक पहुँच अभियान शुरु गर्न सुझाव दिए। ‘सक्रिय रूपमा काम गर्नुहोस् र हाम्रो ‘सिकिम बचाऊँ अभियान’ मा सामेल हुन हाम्रो पार्टी कार्यकर्ताहरूसँग जोडिनुहोस्’, उनले आफ्नो सम्बोधनमा नयाँ सदस्यहरूलाई आह्वान गरे। एसडीएफ सामूहिक नेतृत्वमा चल्ने पार्टी भएको अनि आफूले समेत पार्टीको निर्णय शिरोपर गर्दै आएको बताउँदै पार्टीलाई दह्रो बनाउन, अनि २०२४ को लक्ष्य पूरा गर्न सबै स्तरमा एकजुट हुन उनले पार्टी कार्यकर्ता तथा नेतृ्त्व पंक्तिलाई आह्वान गरे। पूर्वमुख्यमन्त्री पवन चामलिङले आउँदो वर्ष २०२४ को विधानसभा चुनावमा सिक्किम बचाउने जिम्मेवारी लिन एसडीएफ कार्यकर्ता र नव आगन्तुक युवाहरूलाई निर्देशन दिए। यता, डा. वीणा बस्नेतले पत्रकारहरूसँगको कुराकानीमा सिक्किमको अस्तित्व र पहिचानको लागि सबै एकै ठाउँ आउनुपर्ने आवश्यकता रहेको कारण आफू एसडीएफमा सामेल भएको बताइन्। सिक्किम र सिक्किमेको अस्तित्व मेटिँदै गएको तथा सिक्किमको प्रतीक शान्ति धूमिल बन्दै गएको अवस्थामा आफूले आफ्नो नाम परिवर्तन गरी ‘शान्ति’ राखेको पनि उनले थप बताइन्।