गान्तोक: गत ३ र ४ अक्टोबरका दिन सिक्किममा टिस्टा त्रासदीले विभिन्न गाउँहरूबिच सम्पर्क राखेका महत्त्वपूर्ण पुलहरू बगाएर लगेपछि उत्तर सिक्किममा टिस्टा नदीको पूर्वी अनि पश्चिमी तटहरूबिच सड़क सम्पर्क विच्छिन्न हुनपुगेको थियो।
सीमा सड़क संगठन (बीआरओ) ले भारतीय सेनासित मिलेर टिस्टा नदीमाथि साङ्कलाङमा दुईवटा बेली ब्रिजको निर्माण सफलतापूर्वक पूरा गऱ्यो जसको फलस्वरूप मंगन अनि जोङ्गु क्षेत्रबिच पुनः सम्पर्क स्थापित हुनपुगेको छ।
यसपछि बीआरओ-ले साङ्कलाङमा बेली सस्पेन्सन ब्रिज निर्माणका लागि आफ्नो कार्य युद्धस्तरमा चलाइरहेछ। यातायातलाई निरन्तरता दिन नागा अनि टुङ गाउँहरूलाई फेरि जोड्ने प्रयास भइरहेछ।
उल्लेखनीय छ, टिस्टा नदीमा अचानक आएको बाढ़ीले नागा अनि टुङ गाउँलाई जोड्ने मुख्य सड़कलाई व्यापक क्षति पुऱ्याएको थियो भने सड़कका अधिकांश भागहरू बगाएका थिए। स्थितिलाई ध्यानमा राख्दै बीआरओ-का कर्मीहरू रिचु गाउँलाई राज्यका अन्य क्षेत्रहरूसित जोड्ने प्रयासमा लागिपरेका छन्। ओभरटाइम काम गर्दै बीआरओले कड़ा मिहिनेतको फलस्वरूप दुई किलोमिटरभन्दा धेर जोखिमपूर्ण इलाकामा फर्मेशन कटिङको काम गरिसकेको तथा रिचु गाउँसम्म सफलतापूर्वक कनेक्टिभिटी स्थापित गरेको बताइएको छ।
२० दिनपछि सिक्किमका अन्य क्षेत्रहरूसित उनीहरूले सम्पर्क स्थापित गर्नसकेकोमा बीआरओ-को प्रयासबिच रिचु गाउँवासीमा खुशीको लहर छाएको छ। बीआरओ-को प्रयासमा रिचु गाउँका दुई सयभन्दा धेर गाउँवासी अनि २८ वटा वाहनहरूलाई सफलतापूर्वक बचाउन सकिएको बताइएको छ।
बीआरओ-का कर्मीहरूले टुङ गाउँका मानिसहरूसित मिलेर टिस्टा नदीमा एउटा अस्थायी पुल स्थापित गरे, जसले गर्दा नागा अनि टुङबिच पैदल सम्पर्क बहाल हुनसकेको छ। यसैबिच, बीआरओले राज्य प्रशासन अनि स्थानीय मानिसहरूसित समन्वय राख्दै सर्वेक्षण कार्यसमेत पूरा गरेको बताइएको छ।
नागा अनि टुङबिचका डुबाउ क्षेत्रहरूलाई चिन्हित गर्दै यातायातलाई पुनर्बहाल गर्न बीआरओ निरन्तर रूपमा खटिरहेको छ। नागा-टुङबिच सम्पर्क स्थापित भएपछि अब उत्तरी सिक्किममा चुङथाङसम्म निरन्तर यातायातको मार्ग प्रशस्त गर्नेतर्फ बीआरओ लागेको छ।