गुवाहाटी: भारतीय नेपाली भाषीहरूको सबैभन्दा पुरानो गैर सरकारी संस्था असम गोर्खा सम्मेलनको २७औं केन्द्रीय अधिवेशन बुधबार बोडोल्याण्ड स्वशासित परिषद्को बाक्सा जिल्ला अन्तर्गत निकासीमा सम्पन्न भयो। चार दिवसीय २७औं केन्द्रीय अधिवेशनमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई विशेष अतिथिको रूपमा निम्त्याइको भए तापनि कतिपय कारणवश उनी उपस्थिती हुन सकेनन्। आजको प्रमुख आकर्षण भनेको नेपाली भाषा आन्दोलनको नेतृत्व गर्ने भाषा सङ्ग्रामी सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको थियो। तथापि, श्रीमती भण्डारी अहिले अमेरिकामा रहेकाले उनलाई पछि उनको घरमा गएर सो सम्मान हस्तान्तरण गर्ने जानकारी सम्मेलनका सचिव नारायण भण्डारीले दिएका छन्।
अधिवेशनमा आगामी कार्यकारीको पनि चुनाव सम्पन्न गरियो, जसमा कृष्ण भुजेल अध्यक्षको पदमा निर्वाचित भएका छन्। यसैगरी, मूल सचिवको पदमा लक्ष्मी सेडाईं निर्वाचित भएका छन्। सर्वभारतीय स्तरमा सबैभन्दा पुरानो तथा स्वतन्त्रता सङ्ग्रामदेखि सक्रिय रहेको सो संस्था गोर्खा लिग हुँदै गोर्खा सम्मेलनमा परिणत भएको तथा असममा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरूको हक, हित र संवैधानिक अधिकारको निम्ति आवाज उठाउॅंदै आएको जानकारी नवनिर्वाचित अध्यक्ष कृष्ण भुजेलले दिएका छन्। असमका गोर्खाहरूलाई एकत्रित गरेर संवैधानिक र राज्यसत्तामा समान भागिदारी रहनुपर्ने, भाषा, साहित्य, संस्कृतिको सम्बर्धन जस्ता महत्वपूर्ण मागहरू लिएर काम गर्ने उनले जानकारी दिए। यसैगरी, नवनिर्वाचित मूलसचिव लक्ष्मी सेडाईंले असम गोर्खाहरूको निम्ति स्वशासित क्षेत्रको माग नै २७औं गोर्खा सम्मेलनको निचोड भएको र सो माग राज्यका मुख्यमन्त्री हेमन्त विश्व शर्मा समक्ष राखिने बताए।










