गान्तोक: ४ अक्टोबरमा टिस्टा नदीको बाढ़ले पुऱ्याएको बिगारपछि सम्पतिहरूको स्थायी पुनर्निर्माणको प्रस्तावमाथि राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा एक छलफल बैठक राज्य सचिवालयमा आयोजन गरियो। यस अवधि सम्बन्धित विभागहरूले मुख्य सचिवलाई विभिन्न सरकारी सम्पत्तिहरूको मरम्मति र स्थानान्तरणको अनुमानबारे जानकारी गराए। शहरी विकास विभागीय प्रधान मुख्य अभियन्ता शैलेन्द्र शर्माले आफ्नो पावर पोइण्ट प्रेजेण्टेशनमार्फत हालै टिस्टा नदीमा आएको बाढ़मा सिङताम, रम्फू, मल्ली र चुङथाङमा जल निकासी व्यवस्था, फूटपाथ, सड़क र सामुदायिक सम्पत्तिहरूलाई पुऱ्याएको क्षतिबारे मुख्य सचिवलाई अवगत गराए। उनले प्रभावित क्षेत्रमा पूर्वाधारमा भएको क्षतिको विस्तृत जानकारी दिँदै स्थायी पुनर्निर्माणको लागत पनि प्रस्तुत गरे।
यसरी नै पशुपालन तथा पशु चिकित्सा सेवा विभागका सचिव सरमान राईले प्रभावित क्षेत्रमा विभागको क्षतिग्रस्त बनेको सम्पत्तिबारे विस्तृत विवरण प्रस्तुत गरे। जसमा चुङ्थाङको राबुम हाईल्याण्ड पशुधन वन परिसर, मंगन जिल्लाको दूध संघ प्लान्ट परिसर, पाकिम जिल्लाको मत्स्यपालन परिसर र माझीटार बधशालामा भएको क्षति मुख्य रूपमा समावेश गरिएको छ। उनले विभागका विभिन्न सम्पत्तिहरू मरम्मति साथै सुरक्षित स्थानमा सार्नका लागि आर्थिक सहयोगको लागि पनि अनुरोध गरेका छन्।