काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ। यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्लाई सम्बोधन गर्नेबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ।आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषदबाट प्राप्त महासचिव गुटरेसले संसद्लाई सम्बोधन गर्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ। गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक १२ गतेदेखि १५ गतेसम्म महासचिव गुटरेसले नेपाल भ्रमण गर्ने कार्यतालिका स्वीकृत गरेको थियो। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले महासचिवको सम्बोधनका लागि संसद् सचिवालयले आन्तरिक तयारी थालेको जानकारी दिएका छन्। उनले भने– ‘नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घका महामहिम महासचिवको भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको छ। सोहीअनुसार भोलि प्रतिनिधिसभाको बैठक छ, त्यसपछि संसद्मा आन्तरिक सजावटको अलि–अलि काम हुन्छ। बैठक चल्दै गर्दा कुनै प्राविधिक समस्या नआओस् भनेर प्राविधिक पक्षहरूको चेकिङ गर्ने काम हुन्छ। संवैधानिक अङ्गका प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गर्ने काम पनि भोलिदेखि हुन्छ ।’ महासचिव गुटरेशले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन्। सो बैठकमा सांसदहरूका अलावा संवैधानिक अङ्गका प्रमुख, विदेशी राजदूत तथा कूटनीतिक अधिकारीहरू पनि सहभागी हुनेछन्। यसअघि गत असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउने र असोज २७ गते संसद्लाई सम्बोधन गर्ने कार्यक्रम भए पनि प्यालेष्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेपछि उनको भ्रमण रोकिएको थियो। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्यूर्योक गएका बेला प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।