काठमाडौं: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आइतबार नेपाल भ्रमणमा आउँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। सन् २०१७ जनवरीमा उनले पदभार ग्रहण गरेपछि पहिलो पटक नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा महासचिव गुटेरेसले आइतबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ। यस्तै, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण भ्रमण गर्ने कार्यतालिका रहेको छ। महासचिव गुटेरेशका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्र संघको टोली पनि सहभागी हुनेछन्। भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन्।