गान्तोक: ३१ अक्टोबरमा मनाइने राष्ट्रिय एकता दिवसको आयोजनबारे छलफल गर्न राज्यका मुख्य सचिव वीबी पाठकको अध्यक्षतामा टाशीलिङ सचिवालयमा आज एक तयारी बैठक बस्यो।
यस बैठकमा डीजीपी एके सिंह, शिक्षा विभागका एसीएस आर. तेलाङ, गृह विभागकी सचिव टाशी छो छो, खेलकुद तथा युवा मामिला विभागका सचिव राजु बस्नेत, संस्कृति विभागका सचिव बसन्त लामा, आईजीपी-विशेष शाखा प्रवीण गुरुङ, आईपीआर विभागकी सचिव कर्मा डी युत्सो, गान्तोकका जिल्लापाल तुषार निखारे, वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा र राज्य सरकारका अन्य अधिकारीहरू उपस्थित थिए।
बैठकमा यस दिन सम्पन्न हुने गतिविधिहरूका बारेमा विस्तृत छलफल गरियो। कार्यक्रमलाई सफल बनाउन प्रत्येक विभागलाई विशेष जिम्मेवारी सुम्पिएको छ। संक्षिप्त अन्तरक्रिया सत्र पनि सम्पन्न भएको थियो जसमा उपस्थित अधिकारीहरुले विभिन्न सुझाउ र प्रस्तावहरू राखेका थिए।
यस अवसरमा राज्य स्तरीय कार्यक्रम पाल्जोर स्टेडियम, गान्तोकमा आयोजन गरिने छ। गान्तोक नगर निगम क्षेत्र भित्र कार्यरत उपसचिव र सोभन्दा माथिका राज्य सरकारी अधिकारीहरूलाई अनिवार्य रूपमा कार्यक्रममा उपस्थित हुन निर्देश दिइएको छ।