नाम्ची: नाम्चीमा आज दुई दिनव्यापी राँके मेला विविध कार्यक्रमकाे साथमा सम्पन्न भयाे। यस मेलाकाे समापन कार्यक्रममा विद्युत विभागका मन्त्री एनएम शेर्पा मुख्य अतिथि रहेका थिए। मन्त्री शेर्पाले कार्यक्रम शुरू हुन भन्दाअघि जैविक साग-सब्जी र विभिन्न विभागले राखेका स्टलहरूकाे भ्रमण गरे।
कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री शेर्पाले राँके मेलालाई पर्यटनसँग जाेडे स्थानीय मानिसहरूलाई फाइदा पुग्ने विचार प्रकट गरे। एसकेएम सरकार आएपछि धार्मिक-सामाजिक कार्यक्रमहरूमा पार्टीकाे झण्डा लगाएर आउनु पर्ने प्रथा हटेकाे बताउँदै साँस्कृतिक कुराहरूमा वर्तमान सरकारकाे सकारात्मक दृष्टि रहेकाे उल्लेख गरे। यस क्रममा उनले विभिन्न सुझाउहरू पनि राखेका थिए।
कार्यक्रममा आयाेजक समितिका प्रमुख संरक्षक गणेश राईले आफ्नाे सम्बाेधनमा राँके मेलाकाे विशेषता विषय प्रकाश पार्दै नाम्चीमा राँके मेला धरै वर्ष अघिदेखि आयाेजना गर्ने गरेकाे जानकारी गराए। जानकारीअनुसार राँके मेला नाम्ची बाहेक अन्य स्थानमा आयाेजना गर्ने नगरेकाे बताए।
कार्यक्रमकाे आकर्षणकाे रूपमा रहेकाे लठ्ठा तान्ने प्रतियाेगिताकाे फाइनल खेलमा बर्फुङ समष्टिले लाेकल ट्याक्सी ड्राइभर एसोसिएशनलाई पराजित गऱ्यो। कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुऱ्याउने व्यक्तिहरूलाई पनि अभिनन्दन गरिएकाे थियाे। कार्यक्रममा साँस्कृतिक नृत्य, विभिन्न ग्रामिण खेल कुद आदि पनि भएकाे थियाे।
उल्लेखनीय छ, साँझकाे साँस्कृतिक कार्यक्रममा मिरिककाे फ्रोजन ब्याण्डले दर्शकहरूलाई मनाेरञ्जन प्रदान गरेको थियो। नाम्ची नगर परिषदका पार्षद पेम नर्वु भाेटियाले सञ्चालन गरेकाे यस कार्यक्रममा भवन एवं आवास विभागका अध्यक्ष टाँसी दाेर्जे तामाङले स्वागत भाषण र आयाेजक समितिका अध्यक्ष सुवास तामाङले धन्यवाद ज्ञापन राखे।
कार्यक्रममा एसकेएम पार्टीकाे वरिष्ठ उपाध्यक्ष भाेजराज राई, काैशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, जाेरथाङ-नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, मुख्य मन्त्रीकी अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम आदिकाे पनि उपस्थिति रहेकाे थियाे।