गोरूबथान: हरेक तिहारको दोस्रो सोमबारको दिन सोमबारे बजारमा ‘दिइहाल भाउजू पर्व’ मनाउने बलियो परम्परा छ गोरुबथानको। अझ केही वर्षयता त यो पर्वले एउटा भव्य समारोहकै स्वरूप लिँदैआएको छ। गोरुबथानले विरासतको रूपमा प्राप्त गरेको यो ‘दिइहाल भाउजू पर्व’ गोरूबथानको एउटा मौलिक सांस्कृतिक उत्सव र विशिष्ट परिचय बनेको छ। यो पर्वले गोरुबथानको ऐतिहासिकता, सांस्कृतिक धनाढ्यता र मौलिक परम्परालाई आफूमा अँटाएको छ। यसै पर्वलाई यो वर्ष थप आकर्षणका मनाउन शनिवार स्थानीय विभिन्न तप्काका महानुभावहरू लिएर सभा सम्पन्न भयो।

वरिष्ठ नागरिक विलियम फिपन सोल्टीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै सुवास सोताङले यो वर्ष दिइहाल भाउजु पर्व थप आकर्षक ढंगमा, गोर्खा जातिको संस्कृतिलाई झल्काएर पालन गर्नुपर्ने सुझाव राखे। यसको निम्ति तयार गरिने मंचले पूर्ण रुपमा गोर्खा जातिको संस्कृतिलाई प्रतिनिधित्व गरेको हुनुपर्ने तिनले विचार राखे। यसरी नै हाम्रो हराउँदै गइरहेको लोकगीत, लोकनृत्य, लोकपरम्परालाई पनि जगेरा गर्न हेतु उक्त दिन लोक गीत प्रतियोगिता, गोर्खा जातिको संस्कृति देउसी र भैलेनीलाई पनि यो पालि कार्यक्रमको मुख्य आकर्षण बनाएर मंचमा प्रदर्शन गरिनुपर्ने बताए। दिइहाल भाउजु’ पर्व गोरूबथानलाई चिनाउने एक छुट्टै विशेषता बोकेको मौलिक परम्परा भएकोले यसलाई कसरी भव्य र अर्थपूर्ण ढंगले मनाउन सकिन्छ भन्ने कुरामा गोरूबथानका हरेक नागरिकको सहयोग र सुझाव अपेक्षित रहेको बताउँदै गोरुबथानको सांस्कृतिक गरिमालाई अझ चहकिलो बनाउन सबैलाई स्वतस्फूर्त रूपमा अघि आइदिने आह्वान गरे।
सञ्जय प्रधानद्वारा संचालित सभालाई सम्बोधन गर्दै वरिष्ठ नागरिक गोपाल योञ्जनले दिइहाल भाउजु पर्व जस्तो गोरूबथानको गरिमालाई थप आकर्षक र प्रभावकारी बनाउन सबै पक्षका मानिसहरू अघि आएर सहयोगको हात बढाउनुपर्ने सुझाव राखे। त्यसरी नै पंचायत समिति सदस्य भोटु दर्नालले विगत वर्षहरुमा आफुहरूले आयोजन गरेको दिइहाल भाउजु कार्यक्रमबारे अनुभव साझा गर्दै सुझावहरू राखे। गोरूबथानमा मारुनी टोली, मादलेहरू बिस्तारै हराउदै गएकोले यो पर्वको निम्ति अगावै मारुनी टोली अनि मादलेहरूसित सम्पर्क गरेर निश्चित गर्नुपर्ने बताए। सम्बोधनकै क्रममा निशानदास राईले पनि गोरूबथानको यस मौलिक परम्परालाई जोगाएर मात्र होइन कसरी थप प्रभावकारी बनाएर लान सकिन्छ भन्ने कुरामा विशेष जोड दिनुपर्ने मन्तव्य गरे। शिक्षक बबरु बहन राणाले यस पर्वमा बाहिरका मारूनी टोली, मादले टोलीलाई पनि ल्याउन सकिए थप आकर्षण हुने बताए। त्यसरी नै शिक्षक प्रेमकुमार मुखियाले कार्यक्रमको महत्वमाथि आयोजकले फोकस गर्नुपर्ने सुझाव राखे। सम्बोधनकै क्रममा शिक्षक काशिराम प्रधानले दिइहाल भाउजु पर्व पालन गरिँदाका अनुभवहरू साझा गरे। सभालाई देवराज सुन्दासले पनि सम्बोधन गरे।
सभामा उपस्थित महानुभावहरूको परमर्शमा ‘दिइहाल भाउजू उत्सव आयोजना समिति’को एउटा तदर्थ कमिटी गठन गरियो। उक्त समितिका संयोजकको रूपमा सञ्जय प्रधान र रुस्तम शर्मालाई चयन गरिएको छ भने कोषाध्यक्ष देवराज सुन्दास अनि प्रचारप्रसार सचिव सौराज राई चयन भएका छन्। आयोजना समितिका संरक्षकका रूपमा गोरुबथानका जनप्रतिनिधिद्वय रतन थापा, कार्यकारी सभासद र सूर्यमणि राई, अध्यक्ष, गोरुबथान पंचायत समितिलाई राखिएको छ। त्यसरी नै सल्लाहकारको रूपमा विलियम फिपन सोल्टी, श्याम थापा, गोपाल योञ्जन, भोटु दर्नाल, निशानदास राई, मेघनाथ राई, बबरु बहन राणा, देवप्रकाश राई, विनोद लामा, रतन राई, हेमन्त गुरुङलाई चयन गरियो भने कार्यकारिणी समितिमा काशिराम प्रधान, एमबी साम्पाङ, प्रदेश राई, योगेश राई बाछाना, असिम राई, विनोद गौतम, प्रेम कुमार मुखिया, राजकुमार राई, प्रणय गुरुङ, विश्वदीप प्रधान, बानु राई, अमिना राई, रिकाश तामाङ, मिरोज राई, धनबहादुर मुखिया, सुनिता तामाङ आदि रहेका छन्।
आगामी सभामा दिइहाल भाउजु पर्व २०२३ को पूर्ण कमिटी गठन गरिने आजको सभाले प्रस्ताव ग्रहण गर्यो। दसैँको कारण धेरैजना व्यक्तिहरू आजको सभामा उपस्थित हुन नपाएका हुनाले उनीहरूलाई पनि समेटेर आगामी सभामा कमिटीलाई अरू बिस्तार पनि गरिने निर्णय भयो। आगामी सभामा सबैलाई उपस्थित भइदिन दिइहाल भाउजु पर्व आयोजक पक्षबाट हार्दिक अनुरोध गरिएको छ।