कालचिनीः एसएसबी ५३ वाहिनी सिमलाबारी–फालाकाटाका कमाण्डेन्ट विजय सिंहको निर्देशनमा तथा डेपुटी कमाण्डेन्ट हर्ष सिन्हाको नेतृत्वमा भारत भोटाङ सीमान्त मदारीहाट ब्लकको टोटोपाड़ा अन्तर्गत होलापाड़ाका २५ जना बेरोजगार युवालाई कौशल विकास कार्यक्रमअन्तर्गत होलापाड़ा गाउँमा तालिम दिइएको थियो। गत २३ सेप्टेम्बरदेखि २२ अक्टोबरसम्म विद्युतीय वेल्डिङ तालिम लगायत फलामको माप, फलाम काटने, दैलो, झ्याल गाड़ीको ट्रली बनाउने प्रशिक्षण प्रदान गरिएको थियो भने सोही प्रशिक्षण पुरा गर्ने २५ जना प्रशिक्षणप्राप्त युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको एसएसबी सुत्रले जनाएका छन्। एसएसबीको उक्त कौशल विकास कार्यक्रमको उद्देश्य गाउँले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन रहेको एसएसबी सुत्रले जनाएका छन्।

एसएसबी टोटोपाड़ा सीमा नाका अन्तर्गत होलापाड़ा गाउँको स्पेशल क्याडर प्राइमरी स्कूलमा आयोजना गरेको सो कार्यक्रममा प्रमाणपत्र प्रदान साथै सीमा क्षेत्रका प्रायः ४० विपन्न परिवारलाई कागती र अम्बक तथा पालक, टमाटर, काँक्रा, खुर्सानी र बन्दागोभीको उन्नत बीउ वितरण गरिएको थियो भने प्रायः ५० खाँचोमा परेका गाउँलेहरूलाई सिमी, मूला र तरुल आदिको बीउ पनि वितरण गरिएको थियो। उपरोक्त कार्यक्रमहरूसँगै नागरिक कल्याण कार्यक्रम अन्तर्गत कार्यक्रम स्थलमा ठूलो भीडको उपस्थितिमा स्पेशल क्याडर प्राइमरी स्कुलका विद्यार्थीहरूद्वारा लागुऔषध मुक्त भारत अभियान अन्तर्गत सड़क नाटक आयोजना गरिएको थियो।

सड़क नाटक मार्फत विद्यार्थीहरू र एसएसबीले संयुक्त रुपमा लागूऔषधी र मदिरा सेवनले समाज र परिवारमा पार्ने नकरात्मक स्वास्थ्य, आर्थिक, सामाजिक र मानसिक असरका बारेमा सचेतना अभियान सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा टोटोपाड़ा बीओपीका इन्चार्ज बिरेन्द्र भारतीय लगायत स्थानीय जनप्रतिनिधि, एसएसबीका जवान तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।