काठमाडौं: पछिल्लो समय यूएईविरुद्ध एकतर्फी जित हात पार्दै आएको नेपालले शुक्रवार त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनलमा पराजय भोगेको छ। जारी शृङ्खलाको लीगका सबै चार खेल जितेको नेपालले कीर्तिपुर क्रिकेट मैदानमा खेलिएको फाइनलमा भने यूएईलाई पन्छाउन सकेन। चार विकेटले पराजित भयो।यूएईले टस जितेर नेपाललाई ब्याटिङ गर्न पठाएर १६२ रनमा समेट्यो। जवाफमा यूएईले एक बल बाँकी छंदै छक्का प्रहार गरेर १६७ रन बनाउँदै जित हासिल गरेको थियो। नेपाललाई ब्याटिङमा सङ्घर्ष लिगका चार वटै खेलमा रन बनाउन नसकेका ओपनर कुशल भुर्तेलको फाइनलमा कमब्याक भयो।टी-२० विश्वकप अगाडि नेपालको लागि यो खुसीको खबर थियो। ५० रनको अर्धशतकिय पारी खेलेका कुशलको यो छैटौँ टी २० आई अर्ध शतक हो। यद्यपि उनले खेलमा दुई पटक मुस्किलले बच्न सफल भए। एक पटक दोस्रो ओभरमा ५ रनमा हुँदा र दोस्रो पटक २४ रन बनाएका बेला उनी जोगिएका थिए। कुशल बाहेक अन्य नेपाली ब्याटरहरूले भने रनको लागि सङ्घर्ष गर्नुपर्यो। पछिल्लो समय ब्याटिङमा निकै प्रगति गरिरहेका खेलाडीहरूले लामो समयपछि ब्याटिङमा सङ्घर्ष गरेको देखिएको थियो।नेपालका पाँच प्रमुख खेलाडीहरू बोल्ड हुन पुगेका थिए।त्यसमध्ये युएईका आयान अब्जल खानले तीन नेपालीलाई बोल्ड गरेका थिए। आशिफ शेख (७ रन), कुशल मल्ल(१ रन) र सोमपाल कामी(१३ रन) लाई आयानको सिकार बनेका थिए।
आशिफ र कुशल सातौँ ओभरमा पवेलियन फर्केपछि अर्ध शतक बनाएका कुशल भुर्तेल पनि अर्को ओभरमा आउट भए। त्यसपछि खेल सम्हाल्न आएका कप्तान रोहित पौडेल ( १७ रन) र दीपेन्द्र सिंह ऐरी (२० रन) ले पनि टिकाउ इनिङ्स खेल्न सकेनन्। त्यसपछि युएई खेलमा हाबी भएको थियो।नेपालले पहिलो १० ओभरमा ९५ रन जोडेको थियो भने त्यसपछि १० ओभरमा ६७ रन मात्र जोड्न सक्यो।
सन्दीप जोरा १० रनमा, सोमपाल कामी १३ रन तथा गुलशन झा ले ५ रन मात्र बनाए।करण केसीले अविजित २५ रन बनाए। अन्तिम ओभरमा आक्रमक प्रयास गरेका करणले पाँच डट बल खेलेका थिए।