हर्नबील हेरेर बने खुशी
खरसाङ: पूर्व भारतीय क्रिकेट कप्तान एंव पूर्व कोच अनिल कुम्बले रंगचङ्ग – शिवखोला क्षेत्रमा बर्ड वाचिङको लागि आएका थिए। पूर्व क्रिकेटर अनिल कुम्बले बिहीबार अपरान्ह्र खरसाङ महकुमाको रंगटङ्गदेखि शिवखोलासम्म बर्ड वाचिङको लागि आएको जानकारी प्राप्त भएको छ। उनी बिहीबार अपरान्ह्र १ बजेदेखि साँझ ५ बजेसम्मको समयमा रंगटङ्गदेखि शिवखोलाको विभिन्न क्षेत्रहरूमा बर्ड वाचिङ गरेको रंगटङ्गका बर्ड वाचरहरूका गाइड एंव महानन्दा ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीको सह सचिव संजोग देवानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस क्षेत्रमा पूर्व भारतीय क्रिकेटर बर्ड वाचिङको लागि आएर धेरै खुशी भएको अनि यो सुन्दर स्थान फेरि आउने वाचा गरेको पनि बताएका छन्। कुम्ले वन विभागको सिफारिशमा सुरक्षा व्यवस्थासहित बर्ड वाचर संजोग देवान भएकोमा आएपछि देवानले नै विभिन्न स्थानहरूमा बर्ड वाचिङको लागि गएको बताइएको छ। तर उनी आएर कता बसे त्यो सुरक्षा कारणले नखुलाएको बताइएको छ। बर्ड वाचिङपछि आफ्नो मत साझा गर्दै पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेले रंगटङ्ग शिवखोला क्षेत्रमा आएर हर्नबील हेर्न पाएर धेरै खुशी लागेको बताएका छन्। उनले शहरको कोलाहलदेखि निस्केर यहाँ प्राकृतिक सुन्दरताले भरिएको स्थानमा आएर बर्ड वाचिङ गर्नु पाउँदा धेरै खुशी लागेको बताउँदै यहाँ पुन: आउने पनि बताएका छन्। उनले यहाँको मनोरम दृश्यहरू साथै स्थानीय मानिसहरूको पनि प्रशंसा गरेका थिए।

पूर्व क्रिकेटर अनिल कुम्बलेद्वारा यस क्षेत्रमा महानन्दा ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीले गरिरहेका विभिन्न कार्यहरूको पनि सराहना गरेका थिए। उल्लेखनीय छ खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको रंगटङ्ग शिवखोला क्षेत्रमा रहेको प्राकृतिक सुन्दरताको कारणले अहिले पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बिन्दु बनेको छ। त्यसरी नै रंगटङ्ग शिवखोला क्षेत्रमा विभिन्न प्रजातिको चराहरू पाइने भएकोले बर्ड वाचरहरूका लागि बर्ड वाचिङको मुख्य केन्द्र बनेको छ।