नयाँ दिल्ली: साविक विजेता इंग्ल्याण्डले श्रीलंकासँग लज्जास्पद हार बेहोरेको छ। एकदिवसीय विश्वकपमा इंग्ल्याण्डको यो चौथो हार हो। इंग्ल्याण्डले पछिल्ला पाँच खेलमध्ये चार खेलमा हार बेहोरेको छ। यो हारसँगै इंग्ल्याण्डको सेमिफाइनल पुग्न कठिन देखिन्छ। २६ अक्टोबर अर्थात बिहीबार बेंगलुरुको चिन्नास्वामी स्टेडियममा श्रीलंकाले इंग्ल्याण्डलाई स्टाइलमा हराएको थियो।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको टोली १५६ रनको स्कोरमा अलआउट भयो। जसलाई श्रीलंकाले २५ दशमलव ४ ओभरमा दुई विकेट गुमाएर सजिलै पुरा गरेको थियो। श्रीलंकाको जितसँगै अंक तालिकामा पनि ठूलो परिवर्तन देखिएको छ। इंग्ल्याण्डलाई हराउँदै श्रीलंकाले पाकिस्तानलाई एक स्थान तल हानेको छ। यो खेलअघि पाकिस्तानी टोली पाँचौं स्थानमा थियो। तर श्रीलंकाको जितपछि पाकिस्तान छैटौं स्थानमा झरेको छ। जबकि श्रीलंका टोली पाँचौं स्थानमा पुगेको छ। हालको अंक तालिकाको कुरा गर्दा भारतीय टोली पाँच खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ। पाँचमध्ये चार खेल जितेको दक्षिण अफ्रिकी टोली दोस्रो स्थानमा छ। न्युजिल्यान्डको टोलीले पनि पाँच खेलमा चार जित हात पार्दै ८ अंक जोडेको छ। तर नेट रन रेट दक्षिण अफ्रिकाभन्दा कम भएकाले तेस्रो नम्बरमा छ।