कोलकाताः बंगालको खाडीमा उठेको चक्रवातको प्रभाव समाप्त भएको छ। बुधवार दिउॅंसोपछि पश्चिम बंगालमा पानी पर्न थामिएको छ। मौसम विभागले बिहिवार बिहान जारी गरेको बयान अनुसार, राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा गत २४ घण्टा अवधि पानी परेको छ। लगभग २० दिनको लामो अन्तरालपछि दुर्गा पूजाको नवमीको दिन बंगालमा हल्का पानी परेको थियो जुन एकादशीसम्म जारी रह्यो।
यसपछि एकपल्ट फेरि पानी पर्न थामिएको छ र तापक्रममा बढोत्तरीको क्रम शुरू भएको छ। बिहवार न्यूनतम तापक्रम २४.५ डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा एक डिग्री धेरै हो। अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस छ। कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि पानी थामिएको छ। उत्तर बंगालको अलिपुरद्वार, कोचबिहार, जलपाइढी, दार्जीलिङ र कालेबुङमा पनि मौसम सामन्य रहेको छ।