१७ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा तेलेपाड़ा फूटबल एकाडमी क्वार्टर फाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत शनिवार भएको पूल बी-को म्याचमा तेलेपाड़ा फूटबल एकाडमीले वीर बिर्सा मुण्डा वरियर्स (बिन्नागुड़ी)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज केरकेट्टा, अभिषेक उरिया, विवेक टोप्पो र अखिलेश गुरियाले १-१ गोल गरे। यसरी नै हार्ने टीमबाट महेश्वर हंसदाले १ गोल गरे। विजेता टीमका अखिलेश गुरियालाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा लंकापाड़ा मिलन क्लब र काठालगुरी बीबीएस-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट कोषाध्यक्ष देवराज छेत्रीले बताएका छन्।










