खरसाङ: दार्जिलिङ ट्रक चालक संगठनको पक्षबाट आज साँझ खरसाङमा क्याण्डल जुलुस निकालेर मणिपुरमा शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। दार्जिलिङ जिल्ला ट्रक चालक संगठन खरसाङ युनिटको आयोजनामा आज साँझ खरसाङको टुरिस्ट लजदेखि उक्त क्याण्डल जुलुस शुरु गरेर एनएच ५५ हुँदै वर्ध्दमान रोड भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। मोटर स्ट्याण्डमा आएर उक्त क्याण्डल जुलुस श्रध्दाञ्जली सभामा परिणत भएको थियो। कार्यक्रममा मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि मौन प्रार्थना पनि गरिएको छ। यसावधि शहीद जवान अमर रहोस् जस्ता नाराहरू पनि लगाइएको थियो। यस क्याण्डल जुलुसमा ट्रक चालक संगठनको केन्द्रीय महासचिव चन्दन छेत्री, केन्द्रीय सभापति बसन्त सिंह बीके, उप सभापतिद्वय उदय तामाङ र सञ्जय घिसिङ, केन्द्रीय सह सचिव हरि कार्की, खरसाङ युनिटको पदाधिकारीहरू लगायत १६ वटै शाखाका सभापति सचिवहरू लगायत सदस्यहरू उपस्थित रहेका थिए। आजको क्याण्डल जुलुस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ ट्रक चालक संगठनको केन्द्रीय उप सभापति उदय तामाङले आज हामी दार्जिलिङ ट्रक चालक संगठनको पक्षबाट खरसाङ बजारमा क्याण्डल जुलुस निकालेर मणिपुरमा शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेको बताएका छन्। उनले यो जुलुस ट्रक चालक संगठन खरसाङ युनिटको आयोजनामा गरिएको छ र यसमा हामी दार्जिलिङ ट्रक चालक संगठन केन्द्रीय पदाधिकारीहरू लगायत १६ वटै युनिटको पदाधिकारीहरू र सदस्यहरू उपस्थित रहेको जनाएका छन्। उनले यसरी आज हामीलाई पुलिस प्रशासनले जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै निकालेको क्याण्डल जुलुसमा सहयोग गरेकोमा आभार प्रकट गरेका छन्।









