काठमाडौं: इजरेलमा प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ भने अर्का एकजनाको पनि आइतवार दिउँसो नेपाल आइपुग्ने बताइएको छ।
इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो।
नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू हमासको आक्रमणमा परेर मारिएका थिए।
मृतकमध्ये नारायणप्रसाद न्यौपाने, दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाण्डू ल्याइपुर्याइएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।
न्यौपानेको शव शनिवार राति नै काठमाण्डू ल्याइएको थियो भने विष्ट र धामीको शव आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका थिए।
मृतक आशिष चौधरीको शव भने आइतवार दिउँसो नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सेनाको हेलिकप्टरबाट धनगढी पठाइने
नेपाल ल्याइएका तीनवटै शवहरू अहिले काठमाण्डूको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको बताइएको छ।
ती शवहरूलाई आइतवारै मृतकका आफन्तहरूको जिम्मा लगाउनका निम्ति कैलालीको धनगढीतर्फ पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदको सचिवालयले आइतवार बिहान जारी गरेको विवरणमा भनिएको छ, “इजरेल घटनामा निधन भएका तीन जनाको शव काठमाण्डू आइपुगेको छ। एकजना (आशिष चौधरी)को शव दिउँसो १ बजे काठमाण्डू आइपुग्ने छ। शवहरू आजै दिउँसो दुईबजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।”
साउदको सचिवालयले परराष्ट्रमन्त्री पनि शवहरू बुझ्न तथा शद्धाञ्जलि प्रकट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको जनाउँदै त्यसको तस्बिर पनि सार्वजनिक गरेको छ।
विद्यार्थीहरूको शवमा मन्त्री साउदका साथमा नेपालका लागि इजरेली राजदूतले पनि फूलमाला चढाएर श्रद्धाञ्जलि दिँदै गरेको ती तस्बिरहरूमा देखिन्छ।
विपीन जोशीको खोजीबारे के हुँदैछ।इजरेलमा मारिएका १० नेपालीमध्ये अन्यको शव पहिचानको काम जारी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। शव नेपालतर्फ पठाउनुअघि उसले जारी गरेको वक्तव्यमा भनिएको छ, “अन्य शव पहिचानको काम क्रमशः भइरहेको छ।” त्यस्तै दूवावासले बेपत्ता भएका विपीन जोशीको खोजीको पहल पनि जारी रहेको जनाएको छ।उसले वक्तव्यमा भनेको छ, “उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको छ।”
परराष्ट्र मन्त्रालयले पनि उनको खोजीका लागि सबैखाले प्रयासहरू जारी राखेको जनाएको छ।
गत साता परराष्ट्रमन्त्री साउदले बीबीसीसँग इजरेल सरकारले नै नेपालीहरूको शव काठमाण्डू ल्याइदिने भएको बताएका थिए।
त्यस बेला उनले विपीन जोशीको खोजीका लागि पनि पहल भइरहेको जानकारी दिएका थिए।उनले बीबीसीसँग भनेका थिए, “हामीले बेपत्ता नेपाली विद्यार्थीको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छौँ। आवश्यक सबैखाले पहल पनि गरिसकेका छौँ। हामीलाई आशा छ चाँडै उहाँको अवस्था पत्ता लाग्नेछ।”
यसअघि गत सोमवार साउदले जोशीको खोजीका लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई पनि टेलिफोन गरी आग्रह गरेको जनाइएको थियो।
मृतकका आफन्त के भन्छन्?
इजरेलमा हमासको आक्रमणमा परेर सल्यानका प्रवेश भण्डारीले पनि ज्यान गुमाएका थिए।उनकी आमा चण्डिकाले सुर्खेतस्थित हाम्रा संवाददाता प्रकाश पन्तसँग गता साता भनेकी थिइन्, “लास सकेसम्म छिटो ल्याइदिएको भए हुन्थ्यो। दु:ख पनि बिर्सँदै गइन्थ्यो होला। हामीले दाहसंस्कार पनि गर्न पाउथ्यौँ।”
सबैले प्रयास गरिरहेका छौँ मात्र भन्छन् तर कहिलेसम्म छोराको लास आउँछ भन्ने जानकारी दिन कोही पनि सरकारका मान्छे आएका छैनन्।””सरकारले जतिसक्दो चाँडो लास ल्याइदिए हुन्थ्यो। सास नभए लासै भए पनि हेर्न पाए हुन्थ्यो।”
कसरी मारिए नेपाली? सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए। जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।पछि उनलाई हमासका लडाकुहरूले लिएर गएको भन्ने विवरण पनि आएका भए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला नपारिएको इजरेलस्थित नेपाली दूतावासले जनाएको छ।
इजरेलमा कति नेपाली छन्? नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्। त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए। त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।